कास्कीसहितका केही जिल्ला कोरोनाबाट अति प्रभावित बनेको स्वास्थ्य मन्त्रालयको ठहर

काठमाडौं । कोरोना भाइरस संक्रमणको दर फेरी पनि हरेक दिन वृद्धि भइरहेको भन्दै स्वास्थ्य तथा जनसंखया मन्त्रालयले विद्यालयसहितका विभिन्न स्थानमा भीडभाड नगर्न अपील गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै विद्यालयसहितका अन्य धेरै भीडभाड हुने स्थान तत्काल बन्द गर्ने अवस्था आइसकेको भए पनि ठोस निर्णय नभएको भन्दै सावधानी तथा स्वास्थ्य मापदण्ड अपनाउन अपील गरेको हो । मन्त्रालयले कास्कीसहितका विभिन्न जिल्लालाई अति प्रभावित जिल्लाका रुपमा वर्गीकरण समेत गरेको छ । मन्त्रालयले कास्की सहित काठमाडौं, ललितपुर, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा तथा बाग्लुङलाई अति प्रभावित जिल्लाका रुपमा वर्गीकरण गरेको हो ।

‘बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसाय ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लब, खेलकुद, जिम, सार्वजनिक पुजाआजा तथा जात्रा, सभा–सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हल्थ क्लब, स्वीमिङ पुल लगायतका स्थानमा सहभागी नभइदिनुहुन अनुरोध छ ।’ मन्त्रालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले सबै अस्पतालाई समेत अनिवार्य रुपमा फिबर क्लिनिक सञ्चालन गर्न तथा कोभिड १९ को परीक्षणका लाथि नमुना संकलन र परीक्षणको व्यवस्थापन गर्न निर्देशन दिएको छ । त्यस्तै मन्त्रालयले अस्पतालमा आएका बिरामीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकै आधारमा अर्को अस्पतालमा पठाएर अनावश्यक दुख दिन काम नगर्न समेत निर्देशन दिएको छ । यस्तै अब सबै सरकारी अस्पतालले कम्तीमा ५० प्रतिशत बेड कोरोना भाइरस संक्रमितको व्यवस्थापनका लागि छुट्याएर तोकिए अनुसार निःशुल्क सेवा प्रवाह गर्नुपर्ने छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निजी प्रयोगशाला तथा अस्पतालले कोरोनाको परीक्षण तथा उपचारका लागि तोकिएको शुल्क (पिसिआर परीक्षणका लागि २ हजार रुपैयाँमा नबढाई तथा संक्रमितको औषधीबाहेक उपचारका लागि संक्रमणको जटिलताका आधारमा दैनिक सामान्यलाई ३५ सय, मध्यमलाई ७ हजार र जटिललाई १५ हजारमा ५० प्रतिशत थपभन्दा नबढ्ने गरी) उपचार बढी नहुने गरी व्यवस्था गर्नुहुन अनुरोध छ ।’

विदेशी नागरिक नेपाल आएको अवस्थामा समेत विभिन्न मापदण्ड पालना गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । नेपालका विभिन्न होटलमा आएर बसोबास गर्ने विदेशी नागरिकले अब पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको अवस्थामा मात्र होटलमा बस्न पाउने भएका छन् । ‘नेपालका विभिन्न होटलमा आइ बसोबास गर्नुहुने विदेशी नागरिकको सम्बन्धमा गेस्ट रजिस्ट्रेसन सिस्टम चुस्त दुरुस्त बनाई काम गर्नु हुन तथा पिसिआर नतिजा नेगेटिभ आएको अवस्थामा मात्रै होटलमा बास राख्नुहुन अनुरोध छ ।’ विज्ञप्तिमा भनिएको छ ।

हाल नेपालमा विशेष गरेर बालबालिकालाई कोरोना भाइरस संक्रमण बढी भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । त्यस्तै मन्त्रालयले बालबालिका, गर्भवती, सुत्केरी महिला, अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिकको कोरोना भाइरस परीक्षण तथा उपचारमा प्राथमिकता दिन अस्पताललाई निदेशन दिएको छ ।

कमेन्टहरु
Loading...