शैक्षिक उन्नयनमा हिमालयन र बाराहीसँगै कुमुदिनीको सहयात्रा

पोखरा । पोखराको गैह्रापाटनस्थित कुमुदिनी होम्स निजी विद्यालय भएर पनि सामुदायिक विद्यालयको शैक्षिक उन्नयन तथा भौतिक संरचना निर्माणमा सारथी बन्दै आएको छ । केही वर्ष अघिदेखि कुमुदिनी होम्सले कास्कीको पुरुञ्चौरस्थित लप्सीटाकुराको हिमालयन प्रावि र खादर्जुङस्थित बाराही प्राविको भौतिक संरचना निर्माण र ती विद्यालयमा अध्ययनरत् विद्यार्थीको शैक्षिक उन्नयनमा सहयोग गर्दै आएको छ ।

विद्यालयको कक्षा कोठा तथा शौचालयको निर्माण र फर्निचरका सामग्री, विद्यालय पोशाक, शैक्षिक सामाग्री, दिवा खाजाका लागि होम्सले सहयोग गर्दै आएको हो । त्यतिमात्र होइन, कुमुदिनीले ति विद्यालयमा अध्ययनरत् गरिब तथा जेहेन्दार विद्यार्थी र अभिभावकका लागि समेत खाद्यान्नका सामान समेत सहयोग गर्दै आएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न निजी विद्यालयले सहयोग गर्नुपर्ने मान्यताअनुसार नेपाल सरकारले गरेको व्यवस्था गरेकोले सामाजिक उत्तरदायित्वका रुपमा कास्कीको दूर दराजका ति विद्यालयलाई सहयोग गर्दै आएको कुमुदिनी होम्सका संस्थापक अशोककुमार पालिखेले बताए । उनले भने, ‘कुमुदिनी होम्सको सहयोग र सहयात्राले गर्दा झण्डै विस्थापित हुन पुगेको ती विद्यालयले पुनर्जीवन पाएको छ । विद्यार्थी संख्या एकदमै कम भएका विद्यालयले ३ गुणा विद्यार्थी संख्या बढाएका छन् र, शैक्षिक गुणस्तरका साथै शिक्षक÷विद्यार्थीहरुले पढ्ने र पढाउने वातावरण पाएका छन् ।’

पालिखेका अनुसार केही होम्सको तर्फबाट र विद्यार्थीको तर्फबाट सामुदायिक विद्यालयलाई सहयोग पुग्ने गरेको हो । होम्समा अध्ययनरत् विद्यार्थीलाई सामाजिक उत्तरदायित्वका ज्ञान दिने गरेको पालिखेले बताए । होम्समा अध्ययनरत् करिब १३ सय विद्यार्थीले शैक्षिक सामाग्री सहयोग गर्ने उनको भनाई छ । होम्सले ति विद्यालयमा शैक्षिक गुणस्तर उकास्न समय–समयमा मन्टेश्वरी तालिमसमेत सञ्चालन गर्दै आएको पालिखेले उल्लेख गरे । कुनैबेला १२/१३ जना विद्यार्थी मात्र रहेको पुरुञ्चौरस्थित लप्सी टाकुराको हिमालयन प्राविमा कुमुदिनीको सहयोगले हाल विद्यार्थी संख्या ह्वात्तै बढेको विद्यालयका प्रधानध्यापक माधवप्रसाद गौतमले बताए ।

जिल्लाको पोखरा महानगर र माछापुच्छ«े गाउँपालिका जोड्ने भुर्जुङखोलामाथिको पुल कुमुदिनीले बनाइदिएपछि विद्यालयमा विद्यार्थीको संख्या बढेको गौतमले बताए। गौतमका अनुसार हाल विद्यालयमा ३० जना विद्यार्थी अध्ययनरत् छन् । ‘कुमुदिनीले सामाजिक उत्तरदायित्व पूरा गरेको छ ।’ गौतमले भने, ‘एउटा सम्पन्न निजी विद्यालयले दूर दराजको पिछडिएको अर्को सामुदायिक विद्यालयलाई बाटो देखाउने काम गरेको छ ।’ त्यस्तै, ४ वर्ष अघिदेखि कास्कीकै खादर्जुङस्थित वाराही प्राविका विद्यार्थीलाई समेत कुमुदिनीले विद्यालयको भौतिक संरचना निर्माण लगायत विद्यालय पोशाक, दिवा खाजाको व्यवस्था गरेको प्रधानाध्यापक रामप्रसाद आचार्यले बताए ।

आचार्यले भने, ‘कुमुदिनीको सहयोगमा विद्यार्थीले उनीहरुकै घरआँगनमा पढ्ने वातावरण पाएका छन् । जुन व्यवस्था राज्यले गर्न सकिरहेको थिएन ।’ आचार्यका अनुसार हाल विद्यालयमा ३७ विद्यार्थी अध्ययनरत् छन् ।

कुमुदिनी होम्सले बिहीबार मात्रै कास्कीको २ विद्यालयका विद्यार्थीलाई चस्मा वितरण गरेर शैक्षिक उन्नयनको बाटो देखाएको छ । होम्सले बाराही प्राविका ७ र हिमालयन प्राविका ४ जना विद्यार्थीलाई चस्मा वितरण गरेको हो । केही दिन अघि २ विद्यालयका ६५ जना विद्यार्थीको आँखा परीक्षण गर्दा ११ जना विद्यार्थीले आँखा कम देख्ने गरेको रिपोर्ट आएको थियो । प्राप्त रिपोर्टअनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत होम्सले उनीहरुलाई चस्मा वितरण गरेको संस्थापक पालिखेले बताए । लोटस फाउण्डेशन जर्मनीको सहयोग तथा आँखा विशेषज्ञ डा. सोवित पौडेल र नेत्र सहायक अनुपकुमार सिंहको प्राविधिक सहयोगमा चस्मा वितरण गरेको पालिखेको भनाई छ ।

कमेन्टहरु
Loading...