आफ्नै पार्टीका नेतालाई लखेटेर ओली जसपा नेता ठाकुरसंग मिल्न खोजेका छन्ः भुसाल

बुटवल । नेकपा एमालेबाट निलम्बनमा परेका नेता घनश्याम भुसालले बाम गठबन्धन अझै सम्भव रहेको तर प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत तथा कुर्सीको अहंकार त्याग्नुपर्ने बताएका छन् । आज बिहान बुटवलमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भुसालले राजनीति सबैभन्दा पहिले ओलीले नै बिगारेको आरोप लगाएका हुन् ।

कार्यक्रममा उनले राजनीति मैले बिगारेको हुँ भनेर प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले जिम्मेवारी लिने हिम्मत गर्नुपर्ने चुनौती दिएका छन् । ओलीले जहिले पनि आफूमात्र सत्ता र कुर्सीमा बसिरहने तृष्णा पालेको उनको आरोप रहेको छ । ओलीकै तृष्णाले नेपाली राजनीति कमजोर बनेको समेत नेता भुसालले आरोप लगाएका छन् ।

आफ्नै पार्टीका विभिन्न नेतालाई अनेक बहानामा कारवाही तथा निलम्बन गरेर जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर लगायतलाई भित्र्याएको उनले आरोप लगाएका छन् । ओली र ठाकुर दुवै जना नकारात्मक पात्र भएको र उनीहरु मिल्न खोजेको उनको भनाई छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले बिना कारण आफ्नो पार्टीको नेतालाई कारवाही गरेर लखेटेको र ठाकुरसंग गठबन्धन गरेर आफू नेतृत्वको सरकारलाई जबरजस्ती टिकाउने खोजेको समेत नेता भुसालले बताएका छन् । ठाकुरसंग गठबन्धन गरेर अहिलेको सरकार केही समय सत्तामा बसेको अवस्थामा नेपाली राजनीतिमा विसंगति आउने उनले बताएका छन् । मुलुकभरी नै समानान्तर कमिटी गठन गरेर आफूहरुले एमालेलाई ओलीको चंगुलबाट जोगाउन आफूहरु लागिपरेको समेत नेता भुसालले बताएका छन् ।

कमेन्टहरु
Loading...