तनहुँका पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटकको आकर्षण

तनहुँ । तनहुँका पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटकको आकर्षण बढेको छ । नयाँ वर्षको अवसरमा जिल्लाका ब्यास, शुक्लागण्डकी, बन्दीपुरलगायतका पर्यटकीय तथा धार्मिकस्थलमा सर्वसाधारणको आकर्षण बढेको हो । नयाँ वर्षमा बन्दीपुरमा मात्रै १० हजार पर्यटकको आगमन भएको अनुमान छ । बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले नयाँ वर्षमा बन्दीपुर भरिभराउ भएको जानकारी दिएका छन् । ‘नयाँ वर्ष लागेसँगै बन्दीपुर आन्तरिक पर्यटकले भरिभराउ छ ।’ उनले भने, ‘बन्दीपुरको टुँडिखेल, मुख्य बजारमा पर्यटक खचाखच छन् ।’ नयाँ वर्षको अवसरमा बन्दीपुरमा प्रत्येक वर्ष कार्यक्रम हुने गरेको थियो । यस वर्ष भने मञ्च कार्यक्रम गरिएको छैन । स्टेज कार्यक्रम नगरिए पनि प्रत्येक होटल व्यवसायीले आफ्नो होटल अगाडि सांगीतिक कार्यक्रम गरेका छन् ।

हिमालय दरबार होटलका सञ्चालक वैश गुरुङले बास बस्ने पर्यटकको संख्या न्यून रहेपनि दिउँसोमा घुम्न आउने पर्यटक अत्यधिक रहेको जानकारी दिएका छन् । ‘बन्दीपुरमा बास बस्ने पर्यटक यतिबेला कम मात्रामा छन्, घुम्न आउने पर्यटकको संख्या उत्साहजनक छ ।’ उनले भने, ‘नेपालीमा घुम्ने संस्कृतिको विकास भएसँगै विभिन्न चाडपर्व, सार्वजनिक बिदालगायतका दिन बन्दीपुरमा पर्यटक आउने गरेका छन् ।’

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरीलगायतका हिमश्रृंखला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतकास्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ । बन्दीपुर गाउँपालिकाले पर्यटक आकर्षित गर्न विभिन्न पूर्वाधार निर्माणलाई जोड दिइरहेको छ । चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण भइरहेको मिनी ग्रेटवालले पनि पर्यटकको ध्यान खिच्ने गरेको छ । निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

यस्तै जिल्लाको ब्यास नगरपालिका–३ र ५ स्थित उद्यानमा पनि सर्वसाधारणको आकर्षण बढेको छ । उद्यानमा जाने र फोटो तथा टिकटक बनाउन युवायुवतीको अत्याधिक भीड बढेको हो । पछिल्लो समय उक्त २ उद्यान पर्यटकको रोजाइँमा पर्ने गरेको छ । ब्यास–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिरमा पनि आन्तरिक भक्तजनको भीड बढेको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा पनि भक्तजनको भीड बढेको वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...