नेपाल–खनाल समुहविरुद्ध एमाले अध्यक्ष ओली कठोर बन्दै, एकताको सम्भावना न्युन

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनालले मिलेर देशैभरी लगातार रुपमा समानान्तर कमिटी गठन गरिरहेका छन् । संस्थापन पक्षलाई चुनौती दिंदै उनीहरुले मुलुलभरी नै समानान्तर कमिटी गठन प्रक्रियालाई निरन्तरता दिएका हुन् ।

समानान्तर कमिटी गठन भए पछि हाल आएर वरिष्ठ नेता नेपाल पक्षसंग एकता तथा मेलमिलापको सम्भावना लगभग सकिएको संस्थापन पक्षका केही नेताले बताएका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको समुहले नेपाल तथा खनालले पछिल्लोपटक विभिन्न कार्यक्रममा दिएका अभिव्यक्ति तथा गतिविधिले गर्दा पनि मिलेर जाने सम्भावना लगभग सकिएको बताएका छन् ।

पार्टीभित्रै आन्तरिक संघर्ष तथा पार्टीको विधान विपरीतका कार्यमा जुटेपछि एकताका साथ अगाडि बढ्नुको औचित्य नभएको उनीहरुको बुझाई छ । ओली तथा खनाल–नेपाल समुहका दोस्रो तहका नेताले भने पार्टी एकतालाई नै जोड दिइरहेका छन् । दुवै तर्फका केही नेताले एमाले मिलेर जानुपर्नेमा जोड दिंदै विभिन्न नेतासंग छलफल समेत गरेको थियो । तर सम्भावना टर्दै गएपछि उनीहरु निराश बनेका छन् ।

देशभरी नै नेपाल पक्षले समानान्तर कमिटी गठन गर्ने कार्यलाई निरन्तरता दिए पछि दुजै पक्षका विश्वासपात्रका रुपमा रहेका केही नेताले दुवै पक्षसंग छलफल गर्दै आएका थिए । पार्टीको विवाद हाल आएर विदेशमा रहेका कमिटीमा पनि देखिन थालेको छ ।

नेपाल समुहले पार्टीमा विवाद बढेपछि विभिन्न १३ वटा देशमा समानान्तर कमिटीको घोषणा गरिसकेका छन् । मुलुकभित्रकै कुरा गर्ने हो भने नेपाल–खनाल समुहले ६७ वटा जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेका छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले वैशाख ६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् ।

नेपाल–खनालले पार्टीको विधि र विधान विपरीत देशभरी नै समानान्तर कमिटी गठन गरेर हिंडेको भन्दै उनीहरुलाई गरिने थप कारवाहीका विषयमा अध्यक्ष ओलीले बैठक बोलाएको बताइएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले तथा माओवादी केन्द्रबीच भएको पार्टी एकतालाई खारेज गरेको थियो । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले आफू पक्षीय नेतालाई बोलाएर फागुन २८ गते विधान संशोधन गरेका थिए । विधान संशोधन गरे लगत्तै ओलीले नेपाल–खनाल पक्षीय नेताको जिम्मेवारी खोसेका थिए । सोही विषयलाई लिएर एमालेमा विवाद चुलिदै गएको छ ।

कमेन्टहरु
Loading...