आज गण्डकीकाे सत्तापलट गर्दै विपक्षी, ‘स्ट्राटेजी’ बनाउँदै मुख्यमन्त्री गुरूङ

दिपक के श्रेष्ठ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध विपक्षी दलहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।

चैत २५ गते माओवादी केन्द्रले प्रदेशका २ मन्त्रीलाई फिर्ता बोलाएपछि गणितीय हिसाबमा कमजोर देखिएको गण्डकी सरकार राष्ट्रिय जनमोर्चाको आडमा टिक्ने आँकलन गरिएको थियो । यसैबीच, बुधबार अपरान्ह जनमोर्चाले समर्थन नदिने भएपछि आज विपक्षी दलहरु सत्तापलटको योजनामा छन् ।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न २५ प्रतिशत हस्ताक्षर मान्य हुन्छ । तर पारित गराउन भने बहुमत पु¥याउनु पर्छ । बहुमतको संख्या पु¥याउन जनमोर्चाको मत निर्णायक भएप्छि बुधबारको दृश्यले गण्डकी प्रदेश सरकारलाई कमजोर बनाएको छ ।

विपक्षी दलका सांसदहरुले आज सरकारलाई पाखा लगाउन अविश्वासको प्रस्तावमा हस्ताक्षर संकलन गर्नेछन् । हस्ताक्षर संकलनपश्चात् प्रदेश सचिवालयमा पेश गरिनेछ ।

विपक्षीहरुले योजना बनाइरहे पनि मुख्यमन्त्री गुरुङ भने अझै पनि सरकार परिवर्तन भइहाल्ने विश्वास गर्दैनन् । उनका नजिकका सुत्रका अनुसार हस्ताक्षर संकलन र दर्ता गर्न अझै समय लाग्छ । यसबीचमा मुख्यमन्त्री गुरुङले स्ट्राटेजी बनाइरहेको उनले बताए ।

३६ प्रत्यक्ष र २४ समानुपातिकसहित कूल ६० सदस्य रहेको प्रदेश सभामा सरकार परिवर्तन गर्न ३१ साँसदको हस्ताक्षर चाहिन्छ । यसबीचमा जनमोर्चालाई विश्वासमा लिँदै नेपाली कांग्रेसले मुख्यमन्त्रीको दाबा गरेको छ ।

नेपाली कांग्रेसको अगुवाइमा हुने अविश्वासको प्रस्ताव दर्तामा मुख्यमन्त्रीको हकवाला संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेल रहेका छन् ।

 

 

कमेन्टहरु
Loading...