पोखरा, काठमाडौं लगायत १५ सहरका विद्यालय बन्द गर्न सिफारिस, निर्णय हुन बाँकी

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको दर जेठ–असारसम्ममा उच्च विन्दुमा पुग्ने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमणको दर जेठ–असारसम्ममा दैनिक ११ हजार जना संक्रमित भेटिने सम्भावना भएको बताउँदै उच्च विन्दुमा पुग्ने चेतावनी दिएको हो । जेठको अन्तिम र असारको पहिलो हप्तामा दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित नेपालमा भेटिन सक्ने प्रक्षेपण गर्दै मन्त्रालयले सक्रिय संक्रमितको सख्ंया ६ लाख पुग्ने प्रक्षेपण गरेको हो ।

स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले अहिलेको अवस्थालाई नियाल्दै त्यो अवस्था नआउला भन्न नसकिने तर त्यसका लागि आवश्यक तयारी भइरहेको बताएका छन् । मन्त्री त्रिपाठीले विशेष गरेर बालबालिका तथा युवामा भेरियन्ट भेटिनुले पनि डरलाग्दो अवस्था आएको बुझ्न सकिने बताएका छन् । कम उमेर समुहलाई कोरोना भाइरसको नयाँ रुप भेरियन्ट देखिनु डर लाग्दो भएको उनको भनाई छ ।

मन्त्री त्रिपाठीले विदेशबाट नेपाल आएकालाई मुख्य सीमानाकामा नै परीक्षण गर्ने र संक्रमित भएको अवस्थामा अस्पताल वा आइएसोलेसनमा पठाउने रणनीतिका साथ सरकार अगाडि बढेको बताएका छन् । सीमानाकामा कडाई गरिएको र स्वास्थ्य परीक्षणका लागि १ हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने प्रक्रिया सुरु भइसकेको उनले बताए । कोरोना भाइरस संक्रमणको दर फेरी वृद्धि भएको भन्दै काठमाडौंका सबै अस्पताललाई तयारी अवस्थामा राख्न समेत स्वास्थ्य मन्त्री त्रिपाठीले निर्देशन दिएका छन् ।

यसैबीच काठमाडौंसहितका ठूला सहरमा कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न करिब १ महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरिएको समेत उनले जानकारी दिएका छन् ।

कोरोना भाइरस संक्रमण बढेको र हालको समयमा बालबालिका तथा कम उमेर समुहका व्यक्तिलाई संक्रमण भएको भन्दै मन्त्रालयले विद्यालय बन्द गरेर १ महिनाका लागि अनलाइन कक्षा सञ्चालन गर्न सुझाव दिएको हो । मन्त्री त्रिपाठीका अनुसार पोखरासहित काठमाडौं, विराटनगर, वीरगञ्जसहित १५ वटा सहरका विद्यालय बन्द गर्न सिफारिस गरिएको बताएका छन् । ठूला सहरमा कोरोना भाइरस संक्रमितको संख्या कम गर्न विद्यालय बन्द गर्ने सिफरिस गरिएको उनको भनाई छ । अहिले देखिएको नयाँ भाइरस एकदमै संवेदनशील भएको र सबैलाई एकैपटक संक्रमण भए उपचार गर्न अस्पतालले नभ्याउने भएकाले विद्यालय बन्द गर्नु नै उचित हुने उनले बताए ।

विद्यालयसहित मन्दिर, पार्टी प्यालेस, सिनेमा हल, तथा रात्रिकालीन व्यवसाय समेत बन्द गर्न सिफारिस गरिएको उनले जानकारी दिएका छन् । तर यो विषयमा निर्णय हुने भने बाँकी नै छ । मुलुकलाई फेरी पनि बन्दाबन्दीको अवस्थामा पुग्नबाट रोक्न मन्त्रालयले सक्दो कोसिस गरेको र आवश्यक तयारी समेत गरिएको उनले बताएका छन् । लकडाउनको अवस्थामा सकभर देशलाई नपु¥याउने नै आफूहरुको मुख्य ध्येय भएको मन्त्री त्रिपाठीले स्पष्ट पारेका छन् ।

कमेन्टहरु
Loading...