ज्याकेट भित्रबाट पेस्तोल निकाल्यो, लोड गरेर ड्याम्मै हान्यो

मनोज विक

मेरो नाम मनोज विक । वर्ष २७ । स्थायी घर पर्वत जिल्ला मोदी गाउँपालिका – ८, चित्रे । विगत ९ वर्षदेखि खाडी मुलुकमा काम गर्दै आएपनि कोरोना महामारीको समयमा स्वदेश फर्किए । स्वदेश फर्किएको यस्तै करिब ४ महिना पुग्न लाग्यो ।

घरमा श्रीमती र एक छोरा छन् । त्यत्तिकै बस्न मन नमानेपछि कामको खोजीमा लागिरहेकोबेला गाउँकै दाईको लेकसाइडस्थित निर्माणाधीन रेष्टुरेन्टमा बिजुली वायरिङको काम पाए । कतारमा पनि त्यही काम गरेकाले अरुमा ज्ञान पनि थिएन ।

माघको २३ गते बिहान लेकसाइडमै थिए । त्यहाँ चिया पिइरहँदा एकजना मान्छे नजिकै फोनमै कुरा गर्दै थियो । उनको कुरा गराई अनुसार उ घर बनाउने, ठेकेदारी गर्ने जस्तो लाग्यो । त्यो मान्छे फोनमा ‘ठेकदार, साइट, घर बनाउने’ विषयमा कुरा गर्दै थियो । मान्छे हेर्दा पाको देखिन्थ्यो । मैले दाई ‘नमस्ते’ भनि संवाद सुरु गरे । कामको विषयमा कुराकानी भयो । उसले ठेक्कापट्टा र घर बनाउने काम गर्छु भन्यो ।

उसलाई मैले पनि वायरिङको काम गर्ने बताए । ‘वायरिङको काम भए भन्नुहोस् है’ भने । उसले चिनजानको साथीको घरमा काम भएको बतायो । साथीको दोबिल्लमा ६ कोठे र माथि ४ कोठे घर बन्दै गरेको जानकारी दियो । मलाई रेस्टुरेन्टबाट फोन आइरहेकाले उसलाई मेरो नम्बर दिएर त्यहाँबाट निस्किए ।

नयाँ काम पाउने भए भन्दै मन खुशी थियो । छोरालाई स्कुल पु¥याएर लेकसाइडको साइटमै फर्किए । दिउँसो उसले मलाई फोन गरिरह्यो । करिब ४–५ पटक फोन गरेको थियो होला ।

फोनमा उसले मलाई दोबिल्लाको कामसम्बन्धी भेट्न बोलाएपछि मुस्ताङचोक पुगे । म लेकसाइडको साइटबाट १५ मिनेटको समय माग्दै निस्किए । उसले मलाई मुस्ताङचोकमै कुरिबसेको रहेछ । मुस्ताङचोकमा बसेर गफगाफ गरेपछि ‘साइट हेर्न जाउ दाई’ भनेर आग्रह गरे ।

त्यहाँबाट मेरै मोटरसाइकलमा दुबैजना दोबिल्ला लाग्यौं । कतारबाट फर्किएपछि मैले २ सय २० सीसीको पल्सर बाइक किनेको थिए । हेर्दा भलाद्यमी र लवाइखवाई राम्रै देखिने उसले नयाँ ज्याकेट लगाएको थियो । अन्दाजी ४२ वर्षको परिपक्व मान्छे, कुनै शंका गर्नुपर्ने आवश्यकता देखिन । उसलाई मोटरसाइकल पछाडी राखेर हामी दोबिल्ला झ¥यौं ।

रातोपहिरोको ओराले कटेर सितापाइला पुगेपछि पोखरा वृद्धाश्रम र नौलो घुम्ती नजिक सडक छेउको चौतारामा हामी रोकियौं । उसकै आग्रहमा मैले मोटरसाइकल रोके । अन्दाजी साढे ६ बजेको थियो होला ।

त्यहाँ रोकेपछि उसले ‘सरासर जानु भन्दा पहिले दोबिल्लामा फोन गरौं, मान्छे छ कि छैन’ भन्यो । दुबैजना चौतारीमा बस्यौं । बसेको एकैछिनमा उसले मलाई आक्रमण गर्दै ज्याकेट भित्रबाट कालो रंगको पेस्तोल निकालेर म तिर तेस्र्याउँदै ‘घोप्टो पर’ भन्यो । मलाई ‘मोटरसाइकलको चाबी र हेल्मेट दे’ भनिराखेको थियो । उसले पेस्तोलमा गोली लोड ग¥यो । सोही क्रममा एउटा गोली भुइँमा खसेपछि मैले तुरुन्तै टिपेर मुट्ठीमा राखे ।

अचानक पेस्तोल ताक्दै धम्क्याउन थालेपछि म आत्तिँदै उठे । म उठ्ने बित्तिकै उ पछिपछि सर्दै पोजिसन लिन थाल्यो । ‘दाई मलाई के गर्नुभएको यस्तो’ भन्दा धेरै नबोल् भन्दै थर्कायो । यसैबीच ‘ड्याम्म’ आवाज आयो । आवाजसँगै मेरो पेटमुनि रगत देखिएपछि शरिरभित्र चिसो महशुस भयो ।

अब भागिएन भने यसले मार्छ भन्ने सोच्दै थिए, उसले गोली हानिहाल्यो । गोली लागेपनि म जसरी पनि भाग्ने मनस्थितिकासाथ बाइकतर्फ कुदे । ज्याकेटबाट बाइकको चाबी निकाल्दा अघि टिपेको गोली गोजीमा परेछ । कुद्दै बाइक स्टार्ट गरे । उसले झम्टँदै बाइकको पछाडी समातेपनि म फुत्किए । एउटा हात घरि ह्यान्डलमा घरि पेटमा दबाउँदै बैदाम प्रहरी चौकी पुगे । चौकीमा पुगेर बाइक रोकेपछि आफै अडिँदा स्ट्यान्ट माथि नतानी कुदाएको थाहा भयो ।

म चौकी पुग्दा गेट खुल्लै थियो । बाइक सिँधै भित्र हुले । ल अर्धबेहोशी हालतमा थिए । प्रहरीलाई ‘म सँग धेरै बोल्ने समय छैन, मलाई गोली लागेको छ हस्पिटल लानुस्’ भने । प्रहरीले विश्वास गरेनन् । पछि हातमा रगत र शरिरमा चोट देखेर पत्याए । बाइक राखेर उत्तिखेरै प्रहरी भ्यानमा राखे । अनि जिप्रका हो की कता हो ठुलो मान्छेलाई भेटाउन लगे ।

त्यहाँ लैजाने बेला समेत मैले उहाँहरुलाई ‘प्लिज मलाई छिटो अस्पताल लैजानु मसँग समय छैन’ भनेको थियो । उहाँहरुले एकैछिन नआत्तिनुस् भन्दै गन्डकी मेडिकल कलेजको इमर्जेन्सीमा लगे । त्यहाँबाट बल्ल अनुसन्धान सुरु भयो । गोलीले शरिर वारपार छेडेको थियो ।

आइसियूबाट बारिहिएपछि मलाई धारिलो हतियारले हानेको भन्ने समाचार आएछ । जुन गलत थियो । म स्वयंले पेस्तोल देखेको, गोली खाएको साक्षी थिए । आमाले मेरो कपडा मिलाउँदा पहिले लगाएको ज्याकेटबाट गोली खसेछ । त्यसले मलाई गोलीनै हानेको हो भन्ने प्रमाणित गराउन सजिलो भयो । गोली भेटेपछि प्रहरीलाई खबर गरी बुझायौं ।

मलाई गोली हानेको मान्छेको हुलिया प्रहरीले सोही रात पाइसकेको थियो । तर पक्राउ गर्न सकेन । आफन्तहरुले ६ दिनअघि बैदाम चौकीमा ‘अझै किन अपराधी समातिएन ?’ भन्दै जानुभएको थियो । त्यसको भोलीपल्टै उसलाई जिप्रकामा सार्वजनिक गरियो । सोध्नेबित्तिकै अपराधी हाजिर गराएको देख्दा अचम्म लागेको छ ।

आइतबार सकिनसकि म पनि जिप्रका, गैह्रापाटन गए । त्यसलाई देखेपछि ‘मलाई काम दिन्छु भनेर यस्तो किन गर्नुभयो’ भनि सोधे । उसले ‘झुक्किएर हानेछु’ भन्यो ।
गरिखाने उमेरमा यस्तो हालत भयो । उपचारमा हालसम्म ५ लाख रुपैयाँ जति खर्च भइसक्यो । अझै अपरेशन बाँकी छ । अस्पतालले अझै खर्च लाग्छ भनेको छ ।

पहिलेजस्तो काम गर्न सकिँदैन । ‘मरिएन’ भनेर चित्त बुझाउनुको विकल्प रहेन । मेरो उपचार खर्च र अपराधीलाई हदैसम्मको कारवाही होस् भन्ने अनुरोध छ ।

(रिना थापासँगको कुराकानीमा आधारित)

 

 

 

 

 

 

कमेन्टहरु
Loading...