जसपाले निवेदन दिएपछि सरकारद्वारा रेशम चौधरीलाई माफी दिने प्रक्रिया सुरु

काठमाडौं । सरकारले टीकारपुर प्रकरणमा ज्यान मुद्दामा अदालतबाट जन्मकैदको सजाय पाएका रेशमलाल चौधरीको सजाय माफीका लागि प्रक्रिया अगाडि बढाएको छ ।

चौधरीको माफीका लागि जनता समाजवादी (जसपा) नेपालले निवेदन दिएपछि सरकारले माफी दिने प्रक्रिया अगाडि बढाएको हो । जिल्ला अदालत कैलालीले चौधरी लगायतलाई ज्यान मुद्दामा जन्मकैद ठहर गरेको थियो । जिल्ला अदालतको फैसलालाई उच्च अदालत दिपायलले समेत सदर गरेको थियो । अनुसन्धानका लागि चौधरी २०७४ साल फागुन १४ गतेबाट थुनामा छन् ।

चौधरी अदालतको फैसला अनुसार फागुन १३ २०९४ सम्म जेलमा नै बस्नुपर्ने छ । सजाय भए पछि चौधरीले जिल्ला अदालतको फैसलाविरुद्ध आफू छुट्न पाउनुपर्ने दावी गर्दै उच्च अदालत दिपायलमा निवेदन दर्ता गराएका थिए । तर उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीकै निर्णयलाई सदर गरेर चौधरीलाई जेलमुक्त गरेर छोड्न नमिल्ने आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशलाई सदर गर्दै उच्च अदालतले २०७४ चैत्र २२ गते चौधरीलाई थुनामा नै राख्न आदेश दिएको थियो । चौधरीले आफूलाई जेलमुक्त गर्न जिल्ला अदालत कैलाली तथा उच्च अदालत दिपायलले अस्वीकार गरेपछि सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

आफूले बाहिरै बसेर आफूविरुद्धको मुद्दा लड्न पाउनुपर्ने तथा जिल्ला र उच्च अदालतको आदेश नमिलेको भन्दै गत पुस ५ गते चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेका हुन् । हाल सर्वोच्च अदालतमा उनको मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

कमेन्टहरु
Loading...