पोखरा । प्राकृतिक सौन्दर्यतामा मात्र नभई पर्यावरण र जैविक विविधतामा पनि उत्तिकै महत्वपूर्ण मानिने बगाले बगेडी चरा संकटापन्न अवस्थामा पुगेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । पोखरा पंक्षी समाज र नेपाल पंक्षी संरक्षण संघको संयुक्त आयोजनामा पोखरामा आयोजित बगाले बगेडी चरा संरक्षणमा सरोकारवालाबीचको अन्तक्र्रियामा सहभागीले चिन्ता र चासो व्यक्त गरेका हुन् ।
अन्तक्र्रियामा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ एवं गिद्ध विशेषज्ञ समूहका सदस्य कृष्ण भुषालले बगाले बगेडी भँगेरा आकारको रंगीन र आकर्षक चरा भएको जानकारी दिएका छन् । उनका अनुसार विशेषतः जाडोयाममा रुस, मंगोलिया, चीनलगायतबाट बसाइँसराइ गरेर नेपालमा आउने गर्छ । पछिल्लो समय मानिसले मासुका लागि यस चराको बढी शिकार गर्ने थालेपछि अहिले यो चरा विश्वमै अतिसंकटापन्न अवस्थामा पुगेको छ । हरेक वर्ष चीनमा मनाइने ‘बाउल फेस्टिभल’ मा यसलाई खाने गरिन्छ । बर्डलाइफ इन्टरनेसनलका अनुसार त्यही फेस्टिभलका बेला १ वर्षमा करिब १० लाख वटासम्म बगाले बगेडीको शिकार हुने गरेको तथ्यांकले देखाएको छ ।
उत्तरी भूगोलमा प्रजनन गर्ने ती साना आकर्षक चरा नेपालसहित दक्षिण र दक्षिण–पूर्व एशियाली मुलुकतिर जाडो छल्न आउने गरेको उजको भनाई छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकालले वातावरण जोगाउन सके चराचुरुङ्गीको बासस्थान जोगाउन सकिने बताए । ‘वातावरणका बारेमा साझा चासो र चिन्ता आवश्यक छ, वातावरण जोगाउने जिम्मा सरकारको मात्र हो भनेर बुझ्नु हुँदैन ।’ ढकालले भने । उनले तालतलैयामा फोहर फाल्ने संस्कृति बढ्दै गएको र सिमसार मासिदै जाँदा बासस्थान विनाश र अव्यवस्थितरूपमा विषादीको प्रयोगलगायतका कारणाले बसाइँसराइ गरी आउने पाहुना चरालाई प्रभाव पारेको बताएका छन् ।
बर्ड एजुकेसन सोसाइटीका चितवनका अध्यक्ष रमेश चौधरीले नेपालमा ८ सय ८६ प्रजातिका चरा अभिलेखीकरण भएको जानकारी दिएका छन् । उनका अनुसार विश्वमा ११ हजार २ सय २५ प्रजातिका पंक्षी छन् ।
नेपालमा डाँफे, मुनाल, चिरफेजन, खर मयुर, सेतो गरुड, कालो गरुड, सानो खर मयुर र राजधनेस गरी ९ प्रजातिका पंक्षीलाई संरक्षित पंक्षी भनी घोषणा गरिएको छ । काँडे भ्याकुर नेपालमा मात्र पाइने पंक्षी हो । ग्रिष्म ऋतुमा ६२ प्रजातिका चरा नेपाल आउने गरेका छन् भने हिउँद ऋतुमा १ सय ५२ प्रजातिका पंक्षी जाडो छल्न आउने गर्छन् । त्यसैगरी ५० प्रजातिका चरा बटुवाका रूपमा आउने गरेको अभिलेख छ भने ७९ प्रजातिका चरा भने फिरेन्तरूपमा देखिने गरेका छन् । नेपालमा आठ प्रजातिको चरा लोप भइसकेको आशंक गरिएको छ । पोखरामा ४ सय ७२ प्रजाति र चितवनमा ६ सय ९७ प्रजातिका चरा रहेको विज्ञको भनाइ छ ।
नेपाल पंक्षी संरक्षण संघका कार्यक्रम संयोजक मित्र पाण्डेले सन् २००४ देखि २०१७ सम्म तथ्यांकलाई विश्लेषण गर्दै २०१७ मा आइपुग्दा बगाले बगेडी अतिसंकटापन्न अवस्थामा रहेको उल्लेख गर्दै यसको संरक्षणमा सरोकारवालाले चासो दिनुपर्नेमा जोड दिएका छन् ।
पोखरा पंक्षी समाज पोखराका अध्यक्ष मनशान्त घिमिरेले पोखरा ९ तालको सहर भएकाले यस क्षेत्रमा उक्त चराका लागि उपयुक्त बासस्थान भए पनि चोरीशिकारी, वातावरण प्रदूषण, अव्यवस्थित बसोबास, सिमसार क्षेत्र पुरिँदै जाँदा पाहुना चराको आगमन दर घट्दै गएको बताए । घिमिरेले सानो चराले बर्सेनी गर्ने हजारौं किलोमिटरको साहसिक र जोखिमपूर्ण यात्रा आफैंमा रोमाञ्चक रहेको जनाउँदै संरक्षणमा अन्तरदेशीय समन्वय र सहकार्यको खाँचोसमेत औंल्याएका छन् । रासस