अझै सुध्रिएन चालाः जिराेमा महंगो अस्फाल्टमाथि चलाइयाे गैंती बेल्चा

 

दिपक के श्रेष्ठ

करौडौं रुपैयाँको लगानीमा पोखरा नगरभित्र हाल असफाल्ट पिच बिच्छ्याउने काम भइरहेको छ । करिब १० वर्ष आयू रहेको असफाल्टको खर्च उच्च छ ।

यही असफाल्टकाकारण पोखरा नगरक्षेत्रको वैभवतामात्र बढेको छैन, सवारीधनी र सर्वसाधारणले आरामदायी यात्रा गर्न पाइरहेका छन् । त्यसो त सडक ‘सभ्यता’ पनि हो । पोखराको जिरो किलोमिटरमा यही सभ्यता गिजोलिएको छ ।

‘माल पाएर चाल नपाउने’ भने झैं बनिसकेको पिच खन्ने काम भएको छ । यसअघि सडकमा खानेपानी संस्थान, विद्युत प्राधिकरण र टेलिकमदेखि स्थानीयले पानीको पाइम बिच्छ्याउन खाडल बनाउँथे । अहिले अस्फाल्ट बनेपछि पनि सोही क्रम दोहोरिएको छैन ।

जिरो किलोमिटरमा कसले सडकलाई खाल्डो बनाउँदैछ ? पोखरा महानगरसँग जवाफ छैन । महानगरका जिम्मेवार पदाधिकारी भन्छन्, ‘तपाइले सोध्नुभयो, समाचार छापिहाल्नु हुन्छ, के भनम् ।’ उनी निरिह भए । उनका अनुसार असफाल्ट पिच खन्न कसैलाई अनुमति दिइएको छैन । अझ भनौ, कसैले अनुमति लिएका छैनन् ।

महानगरभित्र सडक खन्न अनुमति लिनेमात्र हैन शूल्कसमेत तिर्नुपर्छ । सडक खन्न सम्बन्धित निकायले अनुमति लिएर महानगरपालिकाको दररेट अनुसार शूल्क बुझाउन पर्छ । तर असफाल्ट सडक बनेपछि यसको दररेटसमेत तय नभएको उनले बताए ।

‘के गरेको हो ?, कसले गरेको हो ?, केही थाहा भएन’ महानगरका सूचना अधिकारी भरतराज पौडेलले भने ‘हामीलाई कसैले जानकारी गराएको छैन ।’ अधिकारीले यसबारे बुझ्ने काम भइरहेको बताए । तर अर्का जिम्मेवार पदाधिकारीले भने यो काम खानेपानी संस्थानको भएको आशंका गरेका छन् ।

पहिलेको तुलनामा अस्फाल्ट पिचको गुणस्तर, निर्माण खर्च र टिकाउपना उच्च छ । जिरोमा कसले पिच खन्दैछ भन्ने महानगरलाई थाहा छैन भन्ने कुरा आफैमा अपत्यारिलो छ ।

कमेन्टहरु
Loading...