आत्मालोचना गरेर आउनुस्, बिना भेदभाव स्वीकार गर्नेछुः प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई ध्वस्त बनाउने प्रयास गरेमा ठीक पार्ने चेतावनी दिएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई आत्मालोचना गरेर पार्टीमा फर्किन आग्रह गरेका छन् ।

पार्टीमा नफर्किएर ध्वस्त बनाउने प्रयास गरेमा ठीक पार्ने उनले नेता नेपाललाई चेतावनी दिएका हुन् । पार्टीबाट कसैलाई पनि निस्काष्न नगरिएको र आत्मालोचना गरेर फर्किएको अवस्थामा भेदभाव बिना नै काम गर्न दिने प्रधानमन्त्री ओलीले कार्यक्रममा बताएका छन् । तर पार्टीमा फर्किन चाहने हो भने नेता नेपालले आत्मालोचना गर्नुपर्ने एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको स्पष्टोक्ति थियो ।

पार्टीमा फर्किएर पनि गुटबन्दीको प्रयास गरेमा भने त्यसलाई स्वीकार गर्न नसक्ने उनको भनाई छ ।

आत्मालोचना गरेर अपराधपूर्ण तरिकाले गरेका कार्यको माफी मागेमा आफू स्वीकार गर्न तयार रहेको उनले बताए । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले आफूलाई जे भने पनि सहन सक्ने तर पार्टीका विषयमा गलत कार्य गरेमा सहन नसक्ने चेतावनी दिएका छन् ।

नेता नेपाल अहिले पनि विभिन्न विषयमा गलत बोल्दै आइरहेको बताउँदै उनले सबै कुरालाई आफूले नियालिरहेको बताएका छन् ।

कमेन्टहरु
Loading...