पोखरा । नेपाल टुरिजम बोर्ड गण्डकी प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय फोटो प्रतियोगितामा उत्कृष्ट हुन सफल ५ जनालाई आज पुरस्कार वितरण गरिएको छ ।
प्रतियोगितामा पोखराका फोटो पत्रकार प्रेम थापासहित पोखरा कै किरण अधिकारी, हाल पोखराको विजयपुर ब्यारेकमा कार्यरत नेपाली सेना विजय गौतम, तनहुँका प्रिजन आले तथा शिरीष विसीको फोटो उत्कृष्ट भएको थियो ।
उत्कृष्ट हुन सफल ५ जनालाई नै नेपाल टुरिजम बोर्डमा एक कार्यक्रमको आयोजना गरेर नगद १० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो ।
प्रतियोगितामा गण्डकी प्रदेशभरीबाट करिब ४ सय ९५ जनाले भाग लिएका थिए ।
नेपाल टुरिजम बोर्ड गण्डकी प्रदेशका बिमल कँडेल, पोखराका फोटो पत्रकार राम गुरुङ र रामचन्द्र शर्माको निर्णायक मण्डलले प्रतियोगितामा भाग लिएका मध्येबाट ५ उत्कृष्ट फोटो छनौट गरेको हो ।
गत नोभेम्बरमा सुरु भएको प्रतियोगितामा केही समय अगाडि नै उत्कृष्ट फोटो छनौट भए पनि कोरोना महामारीका कारण पुरस्कार विवरण गर्न ढिलाई भएको टुरिजम बोर्ड पोखराका प्रमुख काशीराम भण्डारीले बताएका छन् ।
भण्डारीका अनुसार कोरोना महामारीलाई नै ध्यानमा राखेर अनलाइनको माध्यमबाट उत्कृष्ट फोटो छनौट गरिएको हो । प्रतियोगिताले नेपाल तथा गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा टेवा पु¥याउने उनले आशा व्यक्त गरेका छन् ।