नेपालगञ्ज । छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण बढ्दो भए पनि बाँकेको नेपाल–भारत सीमा जमुनहा नाकामा संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सयन्त्र परिचालन गरिएको पाइँदैन ।
सीमा नाकामा संक्रमण रोकथाम र नियन्त्रणका लागि संयन्त्र नहुँदा भारतको उच्च जोखिम भएको ठाउँबाट नेपाल प्रवेश गर्नेबाट संक्रमणको जोखिम बढेको पाइएको छ । अहिले भारतको महाराष्ट्र, तामिलनाडु, पञ्जाव, मध्यप्रदेश, नयाँदिल्ली, गुजरात, कर्नाटक र हरियाणा राज्यमा दोस्रो लहरको संक्रमणको दर बढ्दो रहेको छ । सीमा नाकामा ती राज्यबाट आउनेलाई बढी निगरानी गरिएको छ ।
भारतका ती ठाउँमा संक्रमण बढेपछि सरकारले यही चैत ११ गतेदेखि सरकारले सबै नेपाल–भारत सीमा नाकामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेक्स) स्थापना गरेको छ । सीमा नाका जमुनाहामा पनि सहायता कक्षमा संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी सयन्त्र नहुँदा नेपाल प्रवेश गर्नेले संक्रमण भित्र्याउने जोखिम रहेको कक्षका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवाली बताउँछन् ।
संयन्त्र नहुँदा जमुनाहा नाकाको सहायता कक्षले प्रभावकारी रुपमा रोकथाम र नियन्त्रणको काम गर्न समेत सकिरहेको छैन । प्रभावकारी सयन्त्र नभए तापनि कक्षमा रहेका कर्मचारी नेपाल प्रवेश गर्ने व्यक्ति विवरण र ज्वरो नाप्ने काम भने गरिरहेका छन् । सीमा नाकामा संक्रमितलाई राख्नका लागि होल्डिङ सेन्टर र क्यारिन्टिनको व्यवस्था भने गरिएको छैन ।
३ जना कर्मचारीले एउटा थर्मलगनको भरमा भारतको उच्च जोखिम भएको ठाउँबाट आउने व्यक्तिबाट संक्रमण रोकथाम र नियन्त्रण गरिरहेका छन् । कर्मचारी अभावले सीमा नाका भएर नेपाल प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य सुरक्षाका मापदण्ड कसरी अपनाउने, १० दिनसम्म क्यारेन्टिनमा बस्नुपर्ने जस्ता कुरा सिकाउन नसकिएको उनको भनाई छ ।
भारतबाट आउनेलाई शंका र लक्षण देखिए नमूना एन्टिजेन परीक्षण गर्ने गरिएको छ । नाका हुँदै आएका व्यक्तिको नाम, ठेगाना, उमेर र कुन ठाउँबाट आएको भनेर मात्र कक्षमा रहेका कर्मचारीले रजिष्टर्डमा टिपेपनि कर्मचारी अभावले सबै विवरणका लागि फाराम भराउन सकिएको छैन । भारतमा संक्रमण बढेपनि खुला सीमाका कारण दैनिक ४ देखि ५ हजारसम्म व्यक्ति सीमापारि रुपडिया बजारमा दैनिक खाद्यान्न र अन्य सामान किन्न बिना रोकतोक सीमा वारपार गरिरहेका देखिन्छन् ।
ल्याब टेक्निसियन ज्ञवालीले कर्मचारी पर्याप्त नहुँदा आफूहरुले भारतबाट आउने व्यक्तिको ज्वरो नाप्ने र विवरण संकलन गर्नबाहेक कुनै काम गर्न नसकिएको बताएका छन् । ‘भारतको उच्च जोखिम भएका ठाउँबाट मानिस आइरहेका छन् तर ती मानिसलाई संक्रमण रोकथाम र नियन्त्रण गर्न हामीले सकिरहेका छैनौं ।’ उनले भने, ‘ती मानिसबाट संक्रमण फैलने जोखिम रहेको छ । बेलैमा सरकार सचेत हुनुपर्छ ।’
कर्मचारी अभाव
सरकारले सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरेको स्वास्थ्य कक्षमा १ मेडिकल अफिसर, १ हेल्थ असिष्टेन्ट, १ सिनियर अहेब, १ नर्स, १ जना अनमी, १ ल्याब टेक्निसियन र १ कार्यालय सहयोगीको गरी ७ जनाको अस्थायी दरबन्दी सिर्जना गरेको छ । जमुनाहा नाकामा १ सिनियर अनमी, १ अहेब र १ ल्याब टेक्निसियन मात्र रहेका छन् ।
ल्याब टेक्निसियन ज्ञवालीले दरबन्दीअनुसार कर्मचारी नहुँदा सीमा नाका भएर आउने व्यक्तिको कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न नसकिएको स्वीकार गरे । ती व्यक्तिको विवरण लिने, सामान्य थर्मलगनबाट ज्वरो नाप्नेबाहेक अरु कुनै काम गर्न नसकिएको उनी बताउँछन् । ‘हामी ३ जनाले कसरी ६ सयदेखि ७ सय जना मानिसको लागि व्यवस्थापन गर्न सक्दछौं ।’ उनले भने, ‘सीमा नाकाबाट आउनेको हामीले विवरण मात्र राख्न सकेका छौं । हामीले ती व्यक्तिलाई कोभिड–१९ बच्न र अरुलाई बचाउन सचेतना गराउन सकेका छैनौं ।’ उनका अनुसार नाका हुँदै आएका व्यक्तिमा संक्रमण देखिए कसरी व्यवस्थापन गर्ने भन्ने तयारी पनि छैन ।
यही चैत १३ गते भारतको महाराष्ट्रबाट आएका रोल्पाका १ जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएपछि उनलाई व्यवस्थापन गर्न समस्या भएको थियो । बिहान १० बजे परीक्षण गर्दा संक्रमण देखिएको उनलाई राति ९ बजे मात्र एम्बुलेन्सको व्यवस्थापन गरेर संक्रमितको घर रोल्पा पठाइएको उनको भनाई थियो । ‘कोभिड–१९ लाई ‘छिटो परीक्षण र छिटो उद्धार’ (क्युक टेस्ट क्युक रेस्पोन्स) भन्ने मान्यता रहेको हुन्छ ।’ उनले भने, ‘तर यहाँ कुनै तयारी छैन । संक्रमित देखिएपछि कसरी व्यवस्थापन गर्ने भन्ने कुनै तयारी नै छैन ।
रोल्पाका १ जनालाई संक्रमण देखिएपछि १० घण्टापछि उनलाई घरमा पठाएको थियौं ।’ कक्षमा पर्याप्त जनशक्ति नहुँदा नाकाबाट नेपाल प्रवेश गर्नेको सबैको विवरण पनि लिन सकिएको छैन । बिहान ७ बजे कक्ष खुले पनि सुरक्षाकर्मी नहुँदा नाका प्रवेश गर्ने व्यक्तिको ज्वरो नाप्ने र विवरण संकलन गर्न सकिएको छैन । बिहान १० बजे सुरक्षाकर्मी आएपछि मात्र व्यक्ति ज्वरो नाप्ने र विवरण संकलन गर्ने काम हुने गर्छ । कक्षका अहेब हेमन्त रानाले जिल्लाबाट कसैले पनि काम गर्न समन्वय नगरेको बताउँछन् । ‘हामीले ३ जनालाई खटाएका छौं । के गर्ने कसरी गर्ने भनेर अहिलेसम्म कोही पनि समन्वय गर्न आएका छैनन् ।’ उनले भने, ‘हामीले जति गर्न सकेका छौं । त्यति गरेका छौं । हामीले मात्र गरेको कामबाट सीमा नाकाबाट आउने व्यक्तिबाट कोभिड–१९ लाई नियन्त्रण गर्न सकिदैन ।’
उनी सीमा नाकामा कोभिड–१९ को संक्रमणको रोकथाम र नियन्त्रणको लागि कुनै बलियो सयन्त्र नहुँदा नेपाल प्रवेश गर्ने व्यक्तिबाट कोभिड–१९ संक्रमणको जोखिम भइरहेको बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले कर्मचारी अभावले नाकामा संक्रमण रोकथाम र नियन्त्रणको प्रभावकारी काम हुन नसकेको स्वीकार गरे ।
उनले चाँडै नै दरबन्दी अनुसार कर्मचारी राखेर रोकथामको कामलाई प्रभावकारी बनाइने बताएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) का स्रोत व्यक्ति तेज वलीले कर्मचारी व्यवस्थापन गरिरहेको जानकारी दिएका छन् । ‘हामी जिल्ला र स्थानीय तहले मात्र संक्रमण रोकथाम र नियन्त्रण गर्न असम्भव छ ।’ उनले भने, ‘संघबाट नै कर्मचारी व्यवस्थापन गरिरहेका छौं । कर्मचारी व्यवस्थापनपछि प्रभावकारी रुपमा रोकथाम र नियन्त्रण गर्दछौं ।’
उनका अनुसार अहिलेसम्म ६ हजार २ सय ४ जना जमुनाहा नाकाबाट नेपाल प्रवेश गर्नेको विवरण र ज्वरो नाप्ने गरिएको छ । यस्तै कोभिड–१९ को दोस्रो लहर चलेपछि बाँकेमा सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
सीमा नाकामा १० जनामा संक्रमण
भारतको उच्च जोखिम ठाउँबाट आएका १२४ जनामा एन्टिजेन परीक्षण गरिएकामा १० जनामा संक्रमण देखिएको कक्षका ल्याब टेक्निसियन ज्ञवालीले बताए । महाराष्ट्रबाट आएका व्यक्तिमा धेरै संक्रमित भेटिएका छन् । उनका अनुसार संक्रमणको लक्षण, शंका र ज्वरो आएपछि नमूना संकलन गर्दा संक्रमित देखिएको हो । संक्रमितमध्ये लक्षण भएकालाई भेरी अस्पताल र लक्षण नभएकालाई सम्बन्धित जिल्लामा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा घर पठाइने गरिएको छ । कक्षका ल्याब टेक्निसियन ज्ञवालीका अनुसार अहिले सबैभन्दा बढी भारतको महाराष्ट्रको मुम्बई, गुजरातबाट धेरै नेपाली स्वदेश फर्किरहेका छन् । रासस