पोखराका ‘बलिया मान्छे’ले राजधानीमा स्वर्ण जिते

 

गन्थन डेस्क

पोखराका पावरलिफ्टर टेकेन्द्र गुरुङ र राजकुमार घोजुले राजधानीमा आफु ‘बलियो मान्छे’ भएको प्रमाणित गरेका छन् ।

काठमाण्डौंमा शनिबार आयोजित ‘फस्ट नेपाल स्ट्रङगेस्ट रुप कार्की मेमोरियल नेशनवाइड पावर लिफ्टिङ च्याम्पियनशीप’मा गुरुङले ४० वर्षमाथिको उपाधि जितेका छन् ।

गुरुङले स्क्वायडमा २ सय ५, बेन्चप्रेसमा १ सय ४० र डेडलिफ्टमा २ सय १५ गरी कूल ५ सय ६० केजी तौल उठाएर स्वर्णपदक जितेका हुन् । विजेता गुरुङले प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रमाणपत्र प्राप्त गरे ।

पोखरा फुलबारी निवासी गुरुङ करिब २ दशकदेखि व्यायामसँग आबद्ध छन् । त्यस्तै कास्की वरपर आयोजना हुने ठेलो प्रतियोगितामासमेत गुरुङले उपाधि हात पार्दै आएका छन् ।

यसैगरी, पोखराकै राजकुमार घोजुले ५० वर्षमाथिको समुहमा स्वर्णपदक जितेका छन् । घोजुले स्क्वायड १ सय ८७, बेन्चप्रेसमा १ सय १० र डेडलिफ्टमा १ सय ९० गरी कूल ४ सय ८७ तौला उठाएर पदक हात पारेका हुन् ।

जीतस्वरुप उनले प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्राप्त गरे । २ दशकदेखि निरन्तर व्यायाममा लागेका घोजु चिप्लेढुंगाको ट्रेडमलस्थित मेगा जिमका संचालकसमेत हुन् ।

अन्तर्राष्ट्रिस्तरका पावरलिफ्टर रुप कार्कीको स्मृतिमा आयोजित प्रतियोगितामा पोखराबाट सरस्वती गुरुङ, शर्मिला शाह र सन्तोष गुरुङलगायतले सहभागिता जनाएका प्रमुख प्रशिक्षक हसन गुरुङले जानकारी दिए ।

विश्वव्यापी प्रतियोगितामा विभिन्न पदक जितेका कार्कीको गत माघ ८ गते हृदयाघाका कारण मृत्यु भएको थियो ।

कमेन्टहरु
Loading...