तस्बिरः भ्वाइस अफ अमेरिका
गन्थन डेस्क
म्यान्मारमा गत फेब्रुअरीको १ तारिख सेनाले ‘कु’ गरेपछि भएको प्रदर्शनमा हालसम्म करिब ७ सय नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।
यसबीचमा सेनाले निहत्था बालबालिकादेखि नागरिकको घरभित्रै पसेर हत्या गरिरहेको छ । कतिपयले गोली हानेपछि जिउँदै जलाएको तस्बिरसमेत विभिन्न मिडियाले सार्वजनिक गरेका छन् । यसको विरोधमा सहरी क्षेत्रका युवाहरु निरन्तर सेना विरोधी आन्दोलनमा छन् भने कतिपय भागेर जंगल पसेका छन् ।
सहरबाट भागेर ज्यान जोगाउन जंगल पसेकाहरुले त्यस क्षेत्रमा रहेका हतियारधारी समुहलाई सेना विरुद्ध लड्न र आम नागरिकको ज्यान जोगाउन अनुरोध गरिरहेका छन् । करेन आदिवासी क्षेत्रमा रहेका लडाकुहरु केहि दिनयता भागेर आएकाहरुलाई सैनिका तालिम दिन व्यस्त छन् । त्यसो त करेन आदिवासी लडाकु सेनाले आफुलाई विश्वकै पुरानो आर्मी भनेर दावा गर्छ ।
शनिबार बिहानै शान राज्यको नौङमोन प्रहरी स्टेशनमा भएको हमलामा १० जना प्रहरी मारिएको अलजजिराले बताएको छ । केही मिडियाले उक्त संख्या १४ भएको जनाएको छ । यसबारे म्यान्मार आर्मीले हालसम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन ।
अलजजिराले उल्लेख गराए अनुसार प्रहरीविरुद्ध गरिएको हमलामा अराकाङ आर्मी, ताङ लिबरेशन आर्मी र नेशनल डेमोक्र्याटिक एलाइन्स आर्मीले संयुक्तरुपमा हमला गरेका हुन् । यसअघि कुनैपनि अपरेशनमा आदिवासी आर्मीबीच सहकार्य भएको थिएन ।
म्यान्मारमा रहेका आदिवासी आर्मीहरु प्रायः एजेण्डाको विषयमा एकआपसबीच नै भीडन्तमा उत्रिने गर्छन् । तर सेनाले नागरिकमाथि बर्बर अत्याचार गरेको र मृतकका आफन्तहरुले ज्यान जोगाउन बाराम्बार आग्रह गरेपछि उनीहरुबीच सेना विरुद्ध एकीकृत भएर लड्ने सहमति भएको हो ।
आदिवासीहरुको एलायन्स आर्मींले म्यान्मारमा सेनाले ‘अति’ गरेपछि नागरिकको ज्यान जोगाउन हतियार उठाएको बताएको छ । सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई विभिन्न आरोप लगाई नजरबन्द गरी सत्ता हातमा लिएपछि आदिवासी आर्मीहरु सजग भएका थिए ।
उक्त कदमको विरोधमा सडकमा आएका जनताउपर अन्धाधुन्द गोली वर्षाउँदै मार्न थालेपछि आदिवासी आर्मीबीच सेना विरुद्ध कार्वाही थाल्न पटकपटक छलफल भएको समेत जनाइएको छ ।