नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई अस्थिरताको भुमरीमा हाल्न अनैतिक तरिकाले झण्डै दुईतिहाइ जनमत प्राप्त पार्टी खण्डित गरिएको बताएका छन् ।
पार्टीको कर्णाली प्रदेश सम्पर्क समितिको आज आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा उनले मुलुक र जनताविरोधी शक्तिले नेकपालाई खण्डित पारे पनि आफूहरुले एकताको झण्डा उठाइरहनुपर्ने उल्लेख गरे ।
पार्टी विभाजनको जिम्मेवार आफूहरु नभएको बताउँदै उनले भने, “समाजवाद निर्माण गर्नका निम्ति विशाल कम्युनिष्ट समर्थक जनतालाई एकताबद्ध गर्न आवश्यक छ । अप्राकृतिक ढङ्गले विभाजित गरिएको पार्टी पुनः मिलन गराउनु जरुरी छ ।”
उनले पार्टी एकता गरेर गल्ती नगरेको र एकता पनि आफूहरुले नटुटाएको स्पष्ट पारे। कार्यक्रममा कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
यस्तै आजै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकमा अध्यक्ष दाहालले वर्तमान सरकार इतिहासकै विवेकहीन भएको टिप्प्णी गरे ।
उनले दुईतिहाइ नेतृत्वको सरकार विकेकहीन हुनु विडम्बना भएको उल्लेख गर्दै उनले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्च अदालतले विचित्रको फैसला गरी प्रधानमन्त्रीमै राखिदिएको बताए ।
उहाँले तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट हटाइएको समेत स्मरण गरे । अध्यक्ष दाहालले संसद् पुनःस्थापनासम्म आइपुग्दा सरकारात्मक निर्णय भए पनि त्यसपछिको अदालतको फैसला जनताले गरेको परिवर्तनविरोधीको रूपमा आएको बताए ।
जनतामा गएर आफ्ना कुरा बुझाउनुको विकल्प नभएको बताउँदै उनले मजदुर र किसानलाई सङ्गठित गर्न लागिपर्ने धारणा राखे । उनले अब केही दिनमा नयाँ सरकार बन्छ भन्नेमा आफू विश्वस्त रहेको बताए।
सङ्घीय निजामती सेवासम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पास भए पनि सरकारकै कारण सदनबाट पास हुन नदिइएको उनको भनाइ थियो ।
उनले कर्मचारी समायोजनसम्बन्धी विधेयक लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सहयोग पुग्ने गरी समितिबाट पास भए पनि पारित हुन नसक्दा समस्या ज्यूँका त्यूँ रहेको बताए ।