पोखरा । १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ ।
आज पोखरा रंगशालामा भएको फाइनल खेलमा अफ्रिकन रुट एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलोपटक आहाको उपाधि जित्न सफल बनेको हो ।
उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया प्राप्त गरेको छ । त्यस्तै उपविजेता अफ्रिकनले नगद ५ लाख १ हजारमा पाएको छ ।
खेलको निर्धारित समय र थप गरिएको ९० मिनेटको समय १-१ गोलको बराबरीमा खेल सकिएको थियो ।
खेल पेनाल्टी सुटआउटमा गएको थियो । संकटाले पेनाल्टीमा अफ्रिकन रुट्स विरुद्ध जित हासिल गरेको हो ।
पेनाल्टीमा अफ्रिकनका यानिक र रिमले गोल गरेका थिए भने कुइटेको प्रहार बाहिरिएको थियो । एमबाकोपको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले रक्षा गरे ।
त्यस्तै संकटाका तर्फबाट अमित तामाङ, सुवास गुरुङ,निरज बस्नेत, आयुष घलानले गोल गरेका थिए । सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले रक्षा गरे ।
खेलको निर्धारित समयको सुरुआती १० औं मिनेटमा बासेकले मौसाको सटिक पासमा गोल गर्दै अफ्रिकन रुटलाई १-० को अग्रता दिलाएका थिए ।
खेलको २१ औं मिनेटमा अफ्रिकनले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो । उनको प्रहारलाई संकटाका गोलकिपर राजाबाबु थापाले उत्कृष्ट रुपमा बचाउ गर्न पुगे ।
त्यस्तै खेलको ३७ औं मिनेटमा संकटाका फोफानाको हेडर बल अफ्रिकनका गोलकिपर डीए स्याल्भियोले सहजै बचाएका थिए ।
खेलको ४९ औं मिनेटमा ठिक डिबक्स भित्रबाट मौसाको प्रहार संकटाका गोलकिपर राजाबाबुले उत्कृष्ट बचाउ गरेका थिए । खेलको ५१ औं मिनेटसम्म अग्रता लिइरहेको अफ्रिकन रुट्सलाई ग्लोरीले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
त्यस्तै ६८ औं मिनेटमा संकटाका फोफानाको डिबक्सको ठिक भित्रबाटको प्रहार अफ्रिकनका गोलकिपर स्याल्भियोले बचाएका थिए ।
त्यस पश्चात् खेलमा थप गोल भएन र खेल अतिरिक्त समयमा गएको हो । खेलको १ सय १० औं मिनेटमा संकटाका लागि ग्लोरीको फ्री हेडर बल पोस्ट नजिकबाट बाहिरिएको थियो ।
त्यस्तै प्रतियोगितामा व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर राजाबाबु थापा, डिफेन्डर निरज बस्नेत, मिडफिल्डर रिम, स्ट्राइकर बासेक र उत्कृष्ट प्रशिक्षक अफ्रिकनका सर्ज बोरिस चुनिएका छन् ।
उनीहरुले जनही २५/२५ हजार प्राप्त गरे ।
त्यस्तै खेलमा सर्वाधिक गोलकर्ता तर्फ नेपाल पुलिस क्लबका बुद्द बल तामाङ, संकटाका ग्लोरी, अफ्रिकनका बासेक र मौसाले प्राप्त गरे । यस्तै फेयर प्ले अवार्ड नेपाल पुलिस क्लबले प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सकंटाका गोलकिपर राजाबाबु थापा चुनिए । उनले एप्रिला स्कुटर प्राप्त गरेका छन् ।