काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा ठोस तरिकाले कुनै पनि दलले साथ नदिएको गुनासो गरेका छन् ।
आज कर्णाली प्रदेश सम्पर्क कमिटीद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीविरुद्धको अविश्वासको प्रस्तावमा ठोस रुपमा कसैले समर्थन नगरेको र २५ प्रतिशत अपुग भए पछि प्रस्ताव ल्याउन नसेकेको स्पष्ट पारेका हुन् । अविश्वासको प्रस्तावमा अन्य दलले साथ नदिए पनि अबको केही दिनमा नै ओलीलाई प्रधानमन्त्रीको पदबाट हटाएर नयाँ सरकार बनाउने समेत स्पष्ट पारेका छन् ।
आगामी निर्वाचनमा अन्य दलसंग मोर्चाबन्दी गरेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई चौथो पार्टी बनाउने रणनीतिका साथमा आफूहरु अगाडि बढिरहेको उनले कार्यक्रममा जानकारी दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीसंग शेरबहादुर देउवाको निवासमा भएको छलफल सकारात्मक तरिकाले अगाडि बढिरहेको बताउँदै अध्यक्ष प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने बताए ।
सर्वोच्च अदालतले नेकपा एमाले तथा माओवादी केन्द्रलाई पहिले कै अवस्थामा फर्काउने निर्णय गरेर गलत गरेको उनको आरोप थियो । सर्वोच्चद्वारा विघटित नेकपाका नेता माधवकुमार नेपालसंग गहिरो माया–प्रेम भइरहेको समयमा नै डिभार्स गराइदिएको उनले आरोप लगाएका हुन् । ‘हाम्रो बडो लभ परिराख्या थियो । बडो लभ परेको श्रीमान्–श्रीमतीलाई त अदालतले जबरजस्ती डिभोर्स गरिदिन पाइन्छ ? लभ परिराखेको बेलामा डिभोर्स गराइदिनु त प्राकृतिक रुपमा पनि अन्याय भयो ।’ उनले भने, ‘अहिले चाहिं रुंदै–रुंदै दुलाह–दुहली आ–आफ्नो घरमा जानुप¥यो । त्यसो भएर मैले यसलाई अप्राकृतिक, अस्वभाविक र अनैतिक भनेको छु ।’