ओली नेतृत्वको सरकारको विकल्प खोज्न कांग्रेसभित्र कुनै विवाद छैनः प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताएका छन् ।

नेपाली कांग्रेस तथा नेविसंघ लमजुङ–काठमाडौं सम्पर्क समितिले आज आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले वर्तमान सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र कुनै विवाद नभएको बताएका हुन् । ‘कांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत रहेको छ, कांग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ ।’ उनले भने । बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद नभएको उनको भनाई छ ।

कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माले नेपाली कांग्रेस राजनीति दल मात्र नभएर समाजको प्रतिनिधित्व भएको बताउँदै कांग्रेसले मात्र मुलुकलाई सही बाटोमा लैजाने बताएका छन् । कांग्रेसको छवि बदलेर संगठनात्मक स्वरुप बदल्नुपर्ने प्रवक्ता शर्माको भनाई छ । उनले कांग्रेसभित्र सबैले आफ्नो जिम्मेवारीलाई सही ढंगले निभाउन सकेमात्र कांग्रेस रुपान्तरण हुने बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीले कांग्रेसलाई मजबुद र एकताबद्ध बनाए मात्र आगामी निर्वाचनमा जीत हासिल गर्न सकिने बताए । विगतका अनुभवलाई विचार गरेर नयाँ पिंढीलाई कांग्रेसबारे प्रशिक्षण गर्नुपर्ने उनको भनाई थियो ।

कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र देखिएको गुट, उपगुटलाई अन्त्य गरेमात्र कांग्रेस बलियो हुने बताएका छन् । पूर्वसहायकमन्त्री डा रामचन्द्र अधिकारीले कांग्रेसभित्र साझा नेतृत्व आवश्यक रहेको उल्लेख गरे । सम्पर्क समितिका अध्यक्ष प्रदीप अधिकारीले लमजुङमा कांग्रेसको संगठन बलियो बनाउनका लागि एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताएका छन् । रासस

कमेन्टहरु
Loading...