काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसकिएको बताएका छन् । निजामती कर्मचारी युनियन संघले आज काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पटक–पटक प्रधानमन्त्री बनाउन खोजिएको तर त्यस समयमा प्रचण्डले हाल प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएको बताएका छन् ।
प्रचण्ड खुट्टा टेक्ने मान्छे नै नभएको र हाल आएर ओलीले लात हानेपछि ठीक्क परेको उनको भनाई थियो । कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन खोजेको भए पनि संख्या नै नपुगेको बताएका छन् । प्रधानमन्त्री बन्ने चाह आफूमा नभएको र जसलाई बनाए पनि आफ्नो समर्थन रहेको कार्यक्रममा सभापति देउवाले स्पष्ट पारे । त्यस्तै कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर अगाडि बढ्न सक्ने अवस्था नरहेको बताउँदै उनले कार्यक्रममा बरु निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।