पोखरा । पोखराको जनप्रिय क्याम्पसमा नेकपा एमालेका नेता माधव कुमार नेपाल पक्षीय अनेरास्ववियुको समानान्तर कमिटी गठन भएको छ । आविष्कार केसीको अध्यक्षतामा नेता नेपाल पक्षीय अनेरास्ववियुको समानान्तर जनप्रिय क्याम्पस कमिटी गठन भएको हो ।
त्यस्तै समानान्तर कमिटीको उपाध्यक्षमा उज्ज्वल तिमिल्सिना, प्रकृति रानामगर तथा नवदीप क्षेत्री रहेका छन् ।
समानान्तर कमिटीको सचिवमा सुरज ढकाल चयन भएका छन् । कमिटीको सहसचिवमा अर्जुन बुढाथोकी, विप्लव खड्का, रविना श्रेष्ठ, संगम आचार्य, सुनिता आले, सुदिप अर्याल तथा आरती पौडेल रहेका छन् ।
यस्तै अनिता लुइंटेल कमिटीको कोषाध्यक्षका रुपमा चयन भएकी छिन् । कमिटीको सदस्यमा विवेक रोका, मनिस पंगेनी, बिमल सुनार, अस्मिता थापा, अनिसा थापा स्मृति सिंह, साधना रेग्मी लगायत रहेका छन् ।
कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रीय सचिव राजन शर्मा पराजुलीले राजनीतिक व्यवस्था परिवर्तनको आन्दोलनमा अनेरास्ववियुको भूमिका महत्वपूण रहेको र सो आन्दोलन जनताको अधिकारका लागि केन्द्रित भएको बताएका छन् । पराजुलीले कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलाले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाएका छन् । ‘ प्रधानमन्त्री भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भनेर थाक्नु हुन्न, तर उहाँकै मन्त्रीहरु भ्रष्टाचारमा लिप्त भएको देख्नुहुन्न ।’ उनले भने ।
विभिन्न भ्यु टावर बनाउँदैमा, बाटो चिप गर्न भन्दै बटन थिचेर शिलान्यास गर्दैमा र ढलेको धरहरा बनाउँदैमा समाजवाद नआउने उनको भनाई थियो । ‘धरहरा बनाउँदैमा समाजवाद आउने होइन ।’ उनले भने, ‘त्यसरी आउने भए भीमसेन थापाको पालामा नै आउने थियो ।’ शिक्षा, स्वास्थ्य तथा रोजगारको ग्यारेन्टीका लागि अनेरास्ववियुले आन्दोलन जारी राख्ने समेत उनले बताएका छन् ।