बेलायती प्रधानमन्त्रीलाई गोर्खा संगठनको पत्र

काठमाडौं । भूतपूर्व गोर्खाको हकहितका लागि भनी गठित भूपू गोर्खाका ५ संगठन र गैरआवासीय नेपाली संघ बेलायतले संयुक्तरूपमा बेलायतका प्रधानभमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन् ।

लामो समयदेखि भूपू गोर्खाको असमान पेन्सन तथा अन्य समस्याका सम्बन्धमा पटकपटक आन्दोलन गर्दै आइरहेका संगठनले यसपटक एकजुट भई पत्र पठाएका हुन् । पत्रमा यही जुलाई १ तारिखभित्र नेपाल र बेलायत सरकारबीच वार्ता समिति गठन गरी भूपू गोर्खालाई दिँदै आएको असमान पेन्सनलगायतका समस्या समाधान गर्न आग्रह गरिएको छ । संयुक्तपत्रका हस्ताक्षरकर्ता मेजर टिकेन्द्र दल देवानले पत्रको जवाफ बेलायत सरकारले जुन रूपमा फर्काउँछ सोहीअनुरुप आफूहरूले थप अन्य कार्यक्रम तयार पार्ने बताएका छन् ।

उक्त संयुक्तपत्रमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान यूकेका संयोजक थर्क राना, गेसोका कार्यवाहक सभापति धर्म तामाङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, ब्रिटिस गोर्खा नेपाल भूपू सैनिक संघका अध्यक्ष केशबहादुर गुरुङ, ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर (रि.) टिकेन्द्र दल देवान र गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष एवं गोर्खा विभागका प्रमुख संयोजक प्रेम गाहा मगरको हस्ताक्षर रहेको मेजर देवानले जानकारी दिएका छन् । यसैगरी संगठनले संयुक्तरूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही समयभित्रै एक छुट्टै पत्र लेखी पठाउने कार्यक्रम रहेको बताएका छन् । रासस

कमेन्टहरु
Loading...