रुपा गाउँपालिकाको नमुना युवा गाउँसभा सम्पन्न

पोखरा । कास्कीको रुपा गाउँपालिकामा चैत्र १९ गतेबाट सञ्चालित ४ दिने नमुना युवा गाउँसभा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषद्, रुपा गाउँपालिका र गाउपालिका स्तरीय गाउँ युवा क्लब सञ्जालले संयुक्त रुपमा आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मुलुक निर्माणका लागि युवाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । युवाको कार्यक्रममा सहभागी हुँदा आफूलाई झन् बढी हौसला मिलेको अध्यक्ष ओझाको भनाई थियो । मुलुकको भविष्य निर्माणकर्ता नै युवा भएकाले कार्यक्रमले युवाका लागि योगदान दिएको गाउँपालिका अध्यक्ष ओझाले बताएका छन् ।

रुपा गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सन्तोष ढुंगानाले कार्यक्रममा बोल्दै स्थानीय निर्वाचन पछि जनप्रतिनिधि र कर्मचारीबीच कसरी अघि बढ्ने भन्ने ठूलो समस्या रहेको गुनासो गरेका छन् । जनप्रतिनिधि तथा कर्मचारीबीच भएको यस्तो समस्यामा युवाको कार्यक्रमले समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा सहभागी युवाबाट नै निर्वाचन सम्पन्न गराएर नमुना युवा गाउँसभामा रुपा ६ की सरिता सुवेदीले अध्यक्षको निर्वाह गरेकी थिइन् । त्यस्तै उपाध्यक्ष रवीन्द्र ओझा, सचिव सीमा थापा, अर्थ समिति संयोजक सपना श्रेष्ठ तथा विधान समितिको संयोजकका रुपमा सदिक्षा विकले भूमिका निर्वाह गरेका छन् ।

युवा परिषद अन्तरगतको जिल्ला युवा समिति कास्कीका अध्यक्ष विवेक देवकोटाले जीवन र राजनीति विषयमा कार्यपत्र प्रस्तुत गर्दै युवाले आफूलाई अब्बल बनाउन निरन्तर अध्ययन अनुसन्धान गरिरहनुपर्ने बताएका थिए ।

त्यस्तै कार्यक्रममा मुख्य प्रशिक्षक संघीय युवा क्लब सजालका अध्यक्ष विवेक त्रिपाठीले गाउँसभा गठन प्रक्रिया, योजना निर्माण र यसका चरण, गाउसभामा रहने विभिन्न तह र तप्काको भूमिका, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको विषयमा युवालाई प्रशिक्षण प्रदान गरेका छन् ।

रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले उद्घाटन गरेको सो कार्यक्रममा गाउँपालिकाभित्रका १६ देखि २४ वर्ष उमेर समुहका २२ जना युवाको सहभागिता थियो । कार्यक्रममा युवालाई योजना निर्माण गर्ने, स्थानीय सरकारको काम कर्तव्य र अधिकार बोध गराउने, कर्मचारी र जनप्रतिनिधि बीचमा समन्वय गराउने, स्थानीय स्तरका समस्याको पहिचान गरि नियमसंवत् समाधान गर्ने लगायत पक्षबारे प्रशिक्षण गराइएको थियो ।

गाउँ युवा क्लब सञ्जाल रुपा गाउँपालिकाका अध्यक्ष अशोक ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गाउपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सन्दिप पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...