एमालेमा गएका गृहमन्त्री बादलसहित ५ जना मन्त्रीको सांसद पद खोस्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । माओवादी केन्द्रले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका विभिन्न मन्त्रीलाई सांसदको पद खोस्दै कारवाही गर्ने भएको छ ।

माओवादी केन्द्रका संसदीय दलका नेता दीननाथ शर्माले पार्टीमा फर्किन मन्त्रीलाई आग्रह गरेको भए पनि त्यो आग्रहलाई बेवास्ता गरेर एमालेमा नै रहेको भन्दै उनीहरुको सांसद पद खोसेर कारवाही गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले तथा माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्युँत्याइदिएपछि समेत गृहमन्त्री रामबहादुर थापा बादलसहित उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योमन्त्री लेखराज भट्ट, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी तथा सहरी विकासमन्त्री प्रभु शाह पार्टीमा नफर्किएर एमालेमा नै बस्ने निर्णय गरेका थिए । माओवादी केन्द्रको कारवाहीमा परेका गृहमन्त्री थापा राष्ट्रियसभाका सांसद हुन् । त्यस्तै चौधरी, भट्ट, शाह तथा रायमाझी प्रतिनिधिसभा सदस्य हुन् ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते माओवादी केन्द्र त्यागेर एमालेमा आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । माओवादी केन्द्रले खेलकुदमन्त्री दावा लामा तथा खानेपानी मन्त्री मणि थापालाई पनि कारवाही गरेको छ ।

कमेन्टहरु
Loading...