काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर २ रुपैयाँ नै वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ३ पुगेको छ ।
नयाँ मूल्यसूची आज मध्यराति १२ बजेदेखि लागू हुनेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । निगमको आजको निर्णयअनुसार नै मूल्यवृद्धि गरिएको हो । पछिल्लो पटक अप्रिल १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार नै मूल्य समायोजन गरिएको हो । मूल्य समायोजन नगर्दा निगमलाई मासिक एक अर्ब नौ करोड रुपैयाँ बराबरको घाटा हुने अवस्था आएको जनाइएको छ ।
निगमका अनुसार मूल्य समायोजनपश्चात् पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ३९ पैसा, डिजेलमा १ रुपैयाँ ९४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा ४ सय १८ रुपैयाँ ४७ पैसा घाटा भई करिब ८८ करोड बराबरको घाटा हुने देखिन्छ ।
एलपी ग्यासबाट मात्रै निगमलाई १५ दिनमा ६० करोड १३ लाख बराबरको घाटा भइरहेको छ । घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने जनाइएको छ । भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोलमा ३० रुपैयाँ ४७ पैसा र डिजेलमा प्रतिलिटर ३६ रुपैयाँ ६३ पैसा नेपालतर्फ नै सस्तो छ । रासस