तेजाब वा घातक रसायन खरिदमा कडाईं, गृह मन्त्रालयसंग अनुमति लिनु पर्ने

काठमाडौं । औद्योगिक प्रयोजनका लागि तेजाब तथा अन्य घातक रासायनिक पदार्थको आयातमा सरकारले कडाईं गर्न थालेको छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ तथा तेजाब तथा अन्य घातक पदार्थ (नियमन) नियमावली २०७७ स्वीकृत भएसँगै कानुनी व्यवस्थाअनुरुप त्यसको आयात तथा प्रयोगमा कडाईं गर्न थालिएको हो ।

यसअघि फितलो कानुनी व्यवस्था भएकाले अनुगमनको अभावमा खुलमखुला बिक्री वितरण हुँदा अध्यादेशमार्फत कडा कानुनी व्यवस्थासहित त्यसलाई लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।

सोही कानुनी व्यवस्थाअनुसार औद्योगिक प्रयोजनका लागि आ–आफ्नो उद्योगमा वार्षिक योजनाअनुसार के, कति परिमाणमा, के–कस्तो रसायन आवश्यक पर्छ, सो को स्पष्ट विवरणसहित ७ दिनभित्र शाखामा आइपुग्ने गरी विवरण पेश गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन निकासी, पैठारी, भण्डारण, ओसारपसार, बिक्री वितरण, प्रयोग तथा विसर्जन कार्यलाई नियमनका लागि उक्त व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले गएको असोज १२ गतेको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ तथा यही १६ गते नेपाल सरकारबाट तेजाब तथा अन्य घातक पदार्थ (नियमन) नियमावली २०७७ स्वीकृत गरिसकेको छ । उक्त नियमावलीमा खास प्रकारका उद्योगमा प्रयोग हुने खास किसिमका तेजाब वा अन्य घातक रासायनिक पदार्थ औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने परिमाणसम्मका लागि सम्बन्धित उद्योगलाई मात्र अनुमतिपत्र दिन सकिने व्यवस्था छ ।

नियमावलीको नियम छ (२) मा प्रचलित कानूनबमोजिम दर्ता भएको वा इजाजत प्राप्त गरेको कुनै पनि उद्योगलाई औद्योगिक प्रयोजनका लागि तेजाब तथा अन्य घातक रासायनिक पदार्थ आवश्यक पर्ने भएमा अध्यादेशको दफा १४ को उपदफा ४ बमोजिम पूर्व स्वीकृतिका लागि अनुसूची ८ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिनुपर्ने उल्लेख छ । विवरणमा आवश्यक पर्ने रसायनको नाम, रसायन संकेत र आवश्यक वार्षिक परिमाण उल्लेख गर्नुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । रासस

कमेन्टहरु
Loading...