कांग्रेस नेता गुरुङद्वारा राजनीतिक वातावरण बिग्रँदै गएकामा चिन्ता व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर पार्टीका सबै तह र तप्काका व्यक्ति एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिएका छन् । विपी विचार राष्ट्रिय समाजको तेस्रो साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै उनले देशको राजनीतिक वातावरण बिग्रँदै गएकामा चिन्ता व्यक्त गरे ।

‘राजनीतिलाई पेसा बनाइएको छ, त्यसबाट प्राप्त शक्ति, सम्मान र मर्यादालाई व्यक्तिगत वा समूहगत स्वार्थमा प्रयोग गरिंदैछ ।’ विपी कोइरालाले देखाएको बाटोलाई बेवास्ता गरेकाप्रति इंगित गर्दै समाजका अध्यक्षसमेत रहेका गुरुङले भने ।

विपी कोइरालाका अनुयायीले देश र जनताका निम्ति निष्ठाका साथ काम गर्नुपर्ने जनाउँदै राष्ट्रियताको अडान नत्याग्ने बिपीको सिद्धान्तको पालना गर्न पार्टीका सबै तहका कार्यकर्तालाई आग्रह गरेका छन् ।

पूर्वसभामुख तारानाथ रानाभाटले बिपी कोइरालाले प्रतिपादन गरेको राजनीतिक विचार र सिद्धान्तलाई सत्ता स्वार्थमा लागेर परित्याग गरेका कारण नेपाली कांग्रेस दिशाहीन हुँदै गएकामा खेद प्रकट गरेका छन् ।

समाजका सहसभापति गोविन्दराज जोशीले राष्ट्रियताको संरक्षण, लोकतन्त्रको स्थायित्व, आर्थिक उन्नति र जनताको जीवनस्तर उठाउने गुरुत्तर दायित्व बोकेको नेपाली कांग्रेस विखण्डित भएको बताए ।

संवैधानिक कानुनका जानकार भीमार्जुन आचार्यले लोकतान्त्रिक संस्था र तिनका संरचनालाई सुदृढ तुल्याउन नेपाली कांग्रेसमात्र नभई सम्पूर्ण नेपाली जनताले आवाज उठाउन जरुरी भएको विचार व्यक्त गरेका छन् ।

दार्चुला, डडेल्धुरा, मनाङ, मुस्ताङ, भक्तपुर र तेह्रथुमबाहेक सातै प्रदेशका ७१ जिल्लामा विस्तार भएको समाजको २ दिने अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार समापन हुनेछ । रासस

कमेन्टहरु
Loading...