काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रको समग्र विकास र जनशक्ति उपयोगका लागि गुरुयोजना बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयसहितको प्रतिवेदन हस्तान्तरण गर्न आज बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षाको विद्यमान अवस्था, भावी कार्ययोजना र रोजगारीको आकलनसहित प्रतिबिम्ब हुने गरी गुरुयोजना ल्याउन निर्देश गरेका हुन् । उनले विकासको आधारभूत आधारका रूपमा शिक्षालाई लिइने भएकाले सरकार यसप्रति गम्भीरतापूर्वक योजनाबद्ध कार्यक्रम तर्जुमाका लागि प्रयासरत रहेको जनाएका छन् ।
प्रधानामन्त्री ओलीले भने, ‘किसानलाई जीवन बदल्ने सूत्र र सीप लिएर हाम्रो शिक्षा उनीहरुको घरघरमा पुग्न सक्नुपर्छ । कलिला बालबालिकालाई अनुत्तीर्ण घोषित गर्ने खालको होइन, सक्षम नागरिक बनाउने शिक्षाको विकास गर्नु आवश्यक छ ।’ उनले सक्षम, सुयोग्य र दक्ष नागरिक नै मुलुकको ठूलो सम्पत्ति भएकाले सरकारले अब शिक्षालाई पछाडि फर्कन नदिने स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले ज्ञान र पूर्वाधार दुवै दृष्टिले शिक्षा सक्षम बनाउन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले आधार तय गर्ने पनि बताए । उनले भने, ‘शिक्षकको गुणस्तर माथि नउठाएसम्म विद्यार्थीको गुणस्तर बढ्न सक्दैन । शिक्षकले आफ्नो ज्ञानलाई सहीरूपमा विद्यार्थीमा हस्तान्तरण गर्नुपर्छ ।’
सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका छनोटका आधार र छानिएका सूचीसहितको प्रतिवेदन हस्तान्तरण गर्नुभयो । मन्त्री श्रेष्ठले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले योगदान गर्ने विश्वास व्यक्त गरे । मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार सो कार्यक्रमका लागि कुल ६ हजार ९ सय २१ विद्यालयले आवेदन दिएकामा ४ हजार २ सय ५० विद्यालय छनोट भएका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले छानिएका विद्यालयका लागि कक्षाकोठा, शौचालय, सूचना प्रविधि, ल्याब तथा पुस्तकालय, नवीन प्रविधि, भौतिक पूर्वाधार तथा शैक्षिक विकास, डाटा केन्द्र आदि गरी ५ अर्ब ६ करोड ५० लाखको बजेट विनियोजन गरिएको जानकारी दिएका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले एकपछि अर्काे नयाँ काम र योजनाको थालनी गरिरहेको उल्लेख गर्दै विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक धरहराको आउँदो नयाँ वर्षको पहिलो दिन उद्घाटन गर्ने भएकाले जनताका लागि नयाँ वर्षको उपहार त्यही हुने बताएका छन् । रासस