ओली नेतृत्वको सरकारलाई विस्थापित गर्नु मुख्य उद्देश्य होः माओवादी केन्द्र

काठमाडौं । सरकारलाई दिएको समर्थनबारेमा ठोस निर्णय लिन माओवादी केन्द्र फेरी असफल बनेको छ । आज बिहान पार्टी कार्यालय पेरिसडाँडाँमा माओवादीका स्थायी कमिटी सदस्यको अनौपचारिक बैठक बसेको थियो ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता गर्ने गर्ने विषयमा केही दिनपछि निर्णय हुने बारेमा छलफल भएको बताएका छन् । पार्टीले यो विषयमा अझै केही दिन सोचेर निर्णय लिने उनको भनाई थियो ।

स्थायी कमिटीको बैठक शनिबार वा आइतबार बसेर निर्णय हुने उनले बताएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार अन्य दलले माओवादी केन्द्रसंग समय माग गरेको र कसरी अगाडि बढ्ने भन्ने विषयमा निष्कर्ष निकाल्न नसकेकाले सरकारलाई दिएको समर्थन के गर्ने भन्नेमा निर्णय हुन नसकेको हो । बैठकमा अन्य राजनीतिक दलसंग भएको छलफलका बारेमा ब्रिफिङ गरिएको श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले ठोस निर्णय लिन बाँकी रहे पनि सरकारलाई आफूहरुको पार्टीको कुनै साथ नभएको स्पष्ट पारेका छन् । समर्थन फिर्ता लिइएको विषयमा सरकारलाई पत्र लेख्नमात्र बाँकी रहेको उनको स्पष्टोक्ति थियो ।

सबै राजनीतिक दलले वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका विषयमा स्पष्ट कुरा गर्न उनले आग्रह गरेका छन् । यो सरकारलाई साथ दिने या नदिने भन्ने आ–आफ्नो पार्टीको कुरा भएको उनले बताए । वर्तमान प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई विस्थापित गर्नु नै आफूहरुको चाहना भएको समेत प्रवक्ता श्रेष्ठले बताएका छन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई हटाएर नयाँ सरकार गठन गरेपछि संसदलाई क्रियाशील बनाउनु माओवादी केन्द्रको उद्देश्य भएको उनको भनाई छ ।

कमेन्टहरु
Loading...