पर्यटन जागरणका लागि घरवास सचेतना

पर्वत । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशकोे आयोजनामा पर्वतको मोदी गाउँपालिकामा सञ्चालित लब्सी बोट सामुदायिक होमस्टे र भूकदेउराली सामूदायिक होमस्टेमा घरवास सचेतना गरिने भएको छ ।

कोरोना कहरका कारण लामो समयसम्म प्रभावित पर्यटनलाई पुर्नजागरण गराउने लक्ष्यका साथ दुवै होमस्टेका सञ्चालकका लागि गत चैत २० र २१ गते घरवास सचेतना गर्न लागिएको पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष रेनु थापा मगरले जानकारी दिएकी छिन् । घरवास पर्यटनका पर्याप्त सम्भावना रहेका लब्सी बोट र भुक देउरालीमा आगामी दिनमा पर्यटकको आगमन बढाउन पनि कार्यक्रम महत्वपवूर्ण बन्ने विश्वास लिइएको उनले बताइन् ।

सचेतनानका क्रममा पर्यटकलाई गरिने आतिथ्यता, सत्कार, स्वास्थ्य सुरक्षा मापदण्ड लगायतका विषयमा प्रशिक्षण दिइने जनाइएको छ । संघका निवर्तमान अध्यक्ष लक्की कार्की क्षेत्री, अध्यक्ष रेनु थापा मगर, महासचिव शोभा पाण्डे न्यौपाने लगायत पर्यटन क्षेत्रका विज्ञबाट होमस्टे सञ्चालकहरूलाई तालिम तथा प्रशिक्षण दिइने संघले जनाएको छ ।

कोरोनाका कारण लामो समयसम्म प्रभावित गण्डकी प्रदेशभित्रका विभिन्न जिल्ला तथा स्थानमा सञ्चालित होमस्टेमा पछिल्ला दिन आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएका अवस्थामा नेपाल पर्यटन बोर्डको सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रमलाई पनि अघि बढाइएको छ । रासस

कमेन्टहरु
Loading...