नेता नेपालद्वारा कास्कीबाट समानान्तर कमिटी सुरुआत, आचार्य नेतृत्वमा ७५ सदस्यीय कमिटीको घोषणा

काठमाडौं । नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले समानान्तर कमिटी गठनको अभियान सुरु भएको घोषणा गरेका छन् । नेता नेपालले कास्कीबाट छुट्टै समानान्तर कमिटी गठन सुरु भएको घोषणा गरेका हुन् । आज पोखरामा भएको भेलामा धनराज आचार्यको नेतृत्वमा नेता नेपाल समुहले ७५ सदस्यीय कमिटीको घोषणा गरेको हो । त्यस्तै कास्कीमा होमबहादुर नेपाली कमिटीको सचिवका रुपमा चयन भएका छन् । पूर्ण रुपमा कमिटीको घोषणा भने छिट्टै आयोजना गरिने भेलामा घोषणा गर्ने बताइएको छ ।

कास्कीमा नेकपा एमालेका अध्यक्ष कृष्ण थापा रहेका छन् भने जिल्ला कमिटी तथा सबै जनप्रतिनिधि समेत संस्थापन पक्षमा रहेका छन् । यहाँ नेता नेपाल कमजोर मानिन्छन् । आफ्नो समुह कमजोर भए पनि नेता नेपालले कास्कीबाट नै समातान्तर कमिटीको सुरुआत गरेका हुन् ।

यसैबीच पार्टीबाट निलम्बित नेता नेपालले केन्द्रमा पनि नयाँ कमिटी घोषणा गर्ने बताएका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर केन्द्रमा नयाँ कमिटी गठन गर्ने तयारी सुरु भइसकेको नेपालले जानकारी दिएका हुन् । जिल्लामा संगठित भएर कमिटीका बैठक नियमित गर्न उनले आफू पक्षीय नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए । आफूलाई युवाले साथ दिइरहेको अवस्थामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको कारवाहीबाट नभाग्ने तथा नडराउने समेत नेता नेपालले स्पष्ट पारेका छन् ।

कमेन्टहरु
Loading...