जेठ २५ देखि असार ७ गतेसम्म हुने राष्ट्रिय जनगणनाको तयारी तीव्र

काठमाडौं । राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्यांक विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ । समितिले गणकलाई प्रत्येक घरदैलोमा पुगेर वास्तविक तथ्यका आधारमा तथ्यांक संकलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन नदिन आयोग र विभागको गम्भीर ध्यानाकर्षण गराएको छ । सरकारले आगामी जेठ २५ देखि असार ७ गतेसम्म बाह्रौं राष्ट्रिय जनगणना गर्दैछ । समितिको आजको बैठकमा सदस्यले खासगरी बसाइँसराई र विभिन्न पेसा व्यवसायमा संलग्न हुने सिलसिलामा सहर र विदेशमा जाने नागरिकको दोहोरो गणना हुनसक्ने सम्भावनालाई समयमै होस् पु¥याउन सुझाव दिए ।

जनगणनामा शिक्षा, पेशा, बसाइँसराईका अतिरिक्त विदेशमा रहेका नेपाली र नेपालमा रहेका विदेशीको गणना हुन आवश्यक रहेको बताउँदै उनीहरुले सही तथ्यांक संकलन गर्न गणक प्रत्येक घरमा पुगे नपुगेको अनुगमन गर्ने प्रणालीसमेत आवश्यक रहेको उल्लेख गरेका छन् । जनगणनाको स्थलगत तथ्यांक संकलन गर्न ३९ हजार गणक तथा ८ हजार सुपरिवेक्षक परिचालन गरिने सो अवसरमा जानकारी दिइयो ।

संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको संस्थागत विकास गर्ने बलियो आधार जनगणना भएको हुँदा सही तथ्यांक संकलन गर्न सक्नुपर्छ भन्दै सदस्यले सामाजिक रुपान्तरणका लागि कुप्रथाको जड र केन्द्रविन्दु मानिएका विषय पत्ता लगाउने गरी फारम विकास गर्न सुझाव दिएका छन् । कर र राजश्वलगायतका कारणले सही सुचना नदिने पाटोमा सुधार गर्दै जनगणनामा सबैलाई सहभागिताका लागि प्रेरित गर्न सु्झाव दिएका छन् । महिलाले घरभित्र गरेका कामको मूल्यको गणना हुन आवश्यक रहेको बताउँदै उनीहरुले मुलुकभर सेवा क्षेत्रमा भएको विस्तारको अवस्था कस्तो छ भन्ने कुरा जनगणनामा आउनुपर्नेमा जोड दिएका छन् ।

नेपालले प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । प्रत्येक वर्ष असार ८ गतेलाई जनगणना दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्षको जनगणनाको मुल नारा मेरो गणनाः मेरो सहभागिता रहेको छ । योजना आयोगका सदस्य डा.रामकुमार फुयांँलले राष्ट्रको विकास र समृद्धिको अभियानलाई अघि बढाउन ठिक तथ्यांक आवश्यक पर्ने भएकाले राष्ट्रिय जनगणनामार्फत् सही तथ्यांक संकलन गर्न आयोगले भगिरथ प्रयत्न गर्ने दृढता व्यक्त गरेका छन् । तथ्यांक विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले स्थानीयवासीलाई प्रोत्साहन गर्न रोजगारमा संलग्न नभएका युवायुवतीलाई प्राथमिकता दिने उद्देश्यले दरखास्त आह्वान गरी गणक परिचालन गर्न लागिएको बताएका छन् ।

उनले भने, ‘युवालाई गौरव बोध होस् भन्ने हेतुले विगतमा ९८ प्रतिशत शिक्षक परिचालन गर्दै आएकामा यस पटक ठिक विपरीत सोही प्रतिशत युवालाई गणनामा सहभागी गराउने व्यवस्था गरिएको छ ।’ सहरका उच्च वर्गको तुलनामा कम साक्षरता भए पनि दुरदराजका जनताले वास्तविक तथ्यांक उपलब्ध गराएर सहयोग पु¥याएको विगतको अनुभव सुनाउँदै महानिर्देशक श्रेष्ठले समाजका सबै तह र तप्कालाई राष्ट्रिय जनगणनामा सहभागी भई सहयोग पु¥याउन अपिल गरेका छन् । रासस

कमेन्टहरु
Loading...