काठमाडौं । विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने भएको छ ।
मौसमविद् समिर श्रेष्ठका अनुसार तुवाँलो हट्न मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ । ‘अबको २/३ दिनमा त्यस्तो कुनै मौसमी प्रणाली विकास हुने अवस्था देखिएको छैन ।’ मौसमविद् श्रेष्ठले भने ।
नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नाका साथै हावा नचेलेले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा जम्मा भएकाले तुवाँलो लागेको बताइएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ ।
यी प्रणाली सक्रिय नभएकाले वर्षा हुन नसकेको मौसमविद्को भनाई छ ।
दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका १ वा २ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलव २ डिग्री सेल्सियस रहने छ ।
त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ५ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३७ दशमलव ५ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । रासस