काठमाडौं । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन बुटवलमा हुने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट जितेको जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म बुटवलमा हुन लागेको हो ।
सम्मेलनमा नयाँ केन्द्रीय समिति चयन, राजनीतिक प्रतिवेदन पेश, पार्टीको विधान संशोधन गर्नेलगायतको कार्यक्रम रहेको पार्टीका नेता आनन्द शर्माले जानकारी दिएका छन् ।
सम्मेलनको उद्घाटन जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्ने कार्यक्रम छ ।
जनमोर्चाको राष्ट्रिय सम्मेलनमा विभिन्न राजनीतिक दलका नेतासमेतलाई आमन्त्रण गरिएको नेता शर्माले बताएका छन् । सम्मेलनमा देशभरका ७० भन्दा बढी जिल्लाका प्रतिनिधिको सहभागिता रहनेछ । रासस