काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नभएर पार्टीका नेता माधवकुमार नेपाल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संकट परेको बताएका छन् ।
काठमाडौंमा रिपोर्टस् क्लबको २३ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले देशलाई नभएर नेता नेपाल तथा प्रचण्डलाई संकट आएको दावी गरेका हुन् । आफूहरुलाई व्यक्तिगत रुपमा परेको संकटलाई नेपाल र प्रचण्डले देशलाई संकट परेको बताइरहेको अवस्थामा देशलाई संकट प¥यो भन्ने नहुने उनको भनाई थियो । प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमा संकट नपरेको जिकिर गर्दै चुनाव हुँदैमा देशमा कुनै संकट नआउने दावी गरे ।
कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम नै लिएर प्रचण्डसंग पदको महत्वकांक्षामा भएको बताएका छन् । प्रचण्डमा देश बनाउने तथा समृद्धि ल्याउने भन्दा पनि पदको स्वार्थमात्र भएको प्रधानमन्त्री ओलीको दावी थियो । केही व्यक्तिले व्यक्तिगत स्वार्थका लागि राजनीतिलाई धमिल्याउन खोजेको आरोप लगाउँदै उनले प्रचण्डका लागि स्वार्थको सति जान नसकिने बताएका छन् ।
कार्यक्रममा उनले आगामी आर्थिक वर्षबाट सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । साउन १ गतेबाट नै सुरक्षा भत्ता वृद्धि हुने उनले जानकारी दिएका हुन् । यो सुन्दा केही व्यक्तिलाई सह्य नहुने, छट्पटी सुरु हन सक्ने भन्दै उनले कोही व्यक्तिलाई आपत्ति हुँदैमा तथा कसैलाई निद्रा नलाग्दैमा आफू सुरक्षा भत्ता बढाउने योजनाबाट पछाडि नहट्ने उनले स्पष्ट पारेका छन् ।