काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालत सच्चिनेमा आफू आशावादी रहेको बताएका छन् । आज सर्वोच्च अदालतमा फागुन २३ गते भएको नेकपा खारेज गर्ने र एमाले तथा माओवादी केन्द्रलाई ब्युँत्याउने निर्णयविरुद्ध पुनरावलोकन माग्दै निवेदन दिन पुगेका उनले निवेदन दिएपछि सञ्चारकर्मीसंग सर्वोच्च सच्चिनेमा आफू अझै आशावादी भएको बताएका हुन् ।
फागुन २३ गते नेकपा खारेज गर्ने र एमाले तथा माओवादी केन्द्रलाई पहिले कै अवस्थामा फर्काउने सर्वोच्चको निर्णय अप्राकृतिक भएको उनको आरोप छ । सर्वोच्च अदालतले आफूहरुले माग्दै नमागेको निर्णय गरेको उनको भनाई थियो । यस्ता मुद्दामा यस अगाडिका समयमा पनि पुनरावलोकन भएको र फागुन २३ गतेको फैसला समेत सच्चिने आफूले आशा गरेको प्रचण्डले बताएका छन् । पुनरावलोकनको निवेदन दिन पार्टी अध्यक्ष प्रचण्डसहित नेता हरिबोल गजुरेल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, वर्षमान पुन समेत सर्वोच्च अदालत पुगेका थिए ।