काठमाडौं । ललितपुरमा पनि बर्डफ्लु भेटिएको छ । ललितपुर महानगरपालिका वडा नम्बर १४ नख्खुमा बर्डफ्लुको संक्रमण भेटिएको हो । उक्त स्थानमा स्थानीयले पालेका लोकल कुखुरा, बट्टाई तथा हाँसमा बर्डफ्लु भेटिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । बर्डफ्लु भेटिएको आशंकामा रियल टाइम पिसिआर परीक्षण गरिएको थियो । केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणका क्रममा बर्डफ्लु पुष्टि भएको मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।
उक्त स्थानमा पालिएका पंक्षीमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि १ सय ५४ गोटा बट्टाई, ५ सय १६ वटा हाँस, ८ सय ५४ वटा लोकल कुखुरा, ९ सय ४४ वटा कुखुराको अण्डा तथा ३ सय ३५ किलो दाना नष्ट गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार बर्डफ्लुको संक्रमण देखिएको स्थान तथा त्यस वरिपरी उच्च सतर्कता अपनाइनुका साथै निसंक्रमण समेत गरिएको छ ।