लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीका परिकल्पना र योजनाले तराई मधेस समृद्धितर्फ अघि बढीरहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को छैँठौँ बैठक तथा शपथ ग्रहण समारोहलाई बर्दघाटमा सम्बोधन गर्दै उनले तराईको विकासमा वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताए ।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले तराईका २२ वटै जिल्लाका सदरमुकाम आधुनिकीरण, हुलाकी सडक निर्माणको तीव्रता, सिँचाइ परियोजनालगायत ठूलाठूला आयोजनाको सोच र कार्यान्वयनले तराई मधेससहित मुलुक निर्माणको दिशातर्फ अघि बढेको उल्लेख गरे।
उनले प्रधानमन्त्री ओलीले सङ्घीयता सुदृढ, ठूला आयोजनाको तीव्रतर कार्यान्वयन र विकास निर्माणको तीव्रतामा खेलेको भूमिकाका कारण वर्तमान सरकार लोकप्रिय बन्दै गएपछि नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिन डराइरहेको जिकिर गरे । माओवादी केन्द्रले समर्थन फिर्ता लिए जनता समाजवादी पार्टीले सरकारलाई समर्थन गर्ने उनको दाबी थियो ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रधानमन्त्री ओली र एमालेको नेतृत्वमा मुलुक समृद्धिको दिशातर्फ अघि बढीरहेको बताए ।
उनले प्रदेश सरकारले गाउँगाउँको विकासलाई प्राथमिकता दिएको उल्लेख गर्र्दै सरकारको कामले पार्टी बलियो बन्दै गएको उल्लेख गरे ।
पार्टीका लुम्बिनी प्रदेश सङ्गठन विभाग प्रमुख भूमिश्वर ढकालले पार्टी निर्माण अभियानलाई सुदृढ बनाउन आग्रह गरे ।
उक्त अवसरमा नेकपा (एमाले)ले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा गठन गरेको ७ सय १ सदस्यीय जिल्ला आयोजक कमिटीका सदस्यलाई सपथ ग्रहण गराउनुका साथै टोल तहसम्म पार्टी निर्माणको अभियानलाई तीव्रता दिने निर्णय गरेको नेकपा(एमाले)का जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए ।