काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक केही बेरमा बस्दै छ । पार्टी केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको हिजो राति निधन भएपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।
बैठकले जोशीको निधनप्रति शोकप्रस्ताव पारित गर्ने बताइएको छ । यस्तै श्रद्धाञ्जलिका लागि जोशीको पार्थिव शरीर आज बिहान १० देखि दिउँसो १ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
नेता जोशीको उपचारका क्रममा हिजो साँझ काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । गत फागुन १४ गते मस्तिष्कघात भएपछि उनी नर्भिक अस्पताल भर्ना भएका थिए । ५८ वर्षीय जोशीको आईसीयुमा राखेर उपचार भइरहेको थियो ।
मस्तिष्कको शल्यक्रियापछि स्वास्थ्य अवस्था विग्रिएसँगै भेन्टिलेटरको सपोर्टमा उनको उपचार भइरहेको थियो । उपचारको सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको अस्पतालले जनाएको छ ।