संसदीय दलको बैठकमा ओली, ‘अहिले तलमाथि गर्न सकिँदैन,कुनै सम्झौता वा वार्ता हुँदैन’

नेकपा (एमाले) को आजको संसदीय दलको बैठकले संसद्मा पार्टीको भूमिकालाई एकताबद्ध र प्रभावकारी बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आशन्न बजेट तर्जुमाका क्रममा सांसदहरुका सुझाव र प्रस्तावित योजनालाई विधिसम्मतरुपमा प्रस्तुत गर्न आग्रह गरिएको छ । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सांसदहरुलाई उक्त आग्रह गरेका थिए ।

आजको बैठकमा गत बैठकमा अनुपस्थित रहेका र पार्टीका गतिविधिमा सार्वजनिक असन्तुष्टि व्यक्त गर्दै आएका वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरु पनि सहभागी थिए।

बैठकमा दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ गतेको केन्द्रीय कमिटीको विशेष बैठकले गरेका निर्णय र त्यसपछिका बैठकका निर्णयहरु फिर्ता नहुने स्पष्ट गर्दै संसदीय दलको संशोधित विधान पारित भइसकेले त्यसको कार्यान्वयन हुने जानकारी दिएका थिए ।

उनले भने, “पछि कालान्तरमा आवश्यक परेमा संशोधन गरौँला । अहिले तलमाथि गर्न सकिँदैन । र अब पार्टीमा समूहगतरुपमा कुनै सम्झौता वा वार्ता हुँदैन । बैठकमा आएर आफ्ना कुरा वा व्यक्तिगत समस्या राखेमा छलफल गरेर समाधान गर्न सकिन्छ ।”

उनले अब दलको नियमित बैठक बस्ने, सांसद्को क्षमतावृद्धि गर्ने र संसद्मा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन नेतृत्वले सहजीकरण गर्ने पनि बताएका थिए ।

सो दलका प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा दलका नेता एवं प्रधानमन्त्री ओलीले नेताहरु माधवकुमार नेपाल र भीमबहादुर रावलबाट प्रस्तुत गरिएका स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएको र कारबाहीको भागिदार हुने जनाएको बताए। एमालेका चार नेतालाई स्पष्टीकरण सोधिएकामा सुरेन्द्र पाण्डे र घनश्याम भुसालबाट स्पष्टीकरण आउन बाँकी छ । आजको बैठकमा नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्णराज विष्टलगायतले पार्टीलाई एकताबद्ध बनाउने गरी अघि बढ्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।

कमेन्टहरु
Loading...