काठमाडौं । नेकपा एमालेको हालको अवस्था नियाल्ने हो भने पार्टी फुटको संघारमा पुगिसकेको छ ।
पार्टी फुटको संघारमा पुगिसकेको पनि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी पनि नफुटाउने बरु एमालेमा नै बसेर प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विद्रोह गर्ने बताइरहेका छन् ।
नेता नेपालले सर्वोच्च अदालतले एमाले तथा माओवादी केन्द्रलाई ब्युँत्याएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारम्बार भेटिरहेका छन् । नेपालले प्रचण्डसंग बारम्बार भेट गरेपछि त्यसलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
आज बिहान पनि एमाले नेता नेपालले माओवादी अध्यक्ष प्रचण्डसंग गोप्य रुपमा भेटघाट गरेका छन् । हिजोमात्र भेटेका नेपालले आज दोस्रो दिन पनि प्रचण्डलाई भेटेका हुन् । एमाले नेता नेपालले माओवादी अध्यक्ष प्रचण्डसंग कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिमिल्सिनाको घरमा गोप्य भेट गरेका हुन् । दुवै जनाबीच भएको भेटमा के–कस्ता विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।
आजको भेटमा उनीहरुबीच २ घण्टा छलफल भएको थियो । हिजो पनि नेता नेपालले प्रचण्ड तथा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठबीच कोटेश्वरकै व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा भेटेका थिए । एमाले नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा श्रेष्ठसंगको भेटपछि नै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीमाथि विभिन्न १३ वटा प्रश्नसहितको स्पष्टीकरण दिएका थिए ।