ओलीले बोलाए नेकपा संसदीय दलको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । ओलीले प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार बैठक शुक्रबार ३ बजे बस्ने भएको छ ।

एमाले पुनःस्थापनापछि तीनपटक दलको बैठक बस्दा पनि माधव नेपाल पक्ष सहभागी भएको छैन । पछिल्लो पटक चैत ७ गतेको बैठक चलिरहेका बेला माधव नेपाल पक्षले बैठकमा आउन नसक्नुको लिखित कारण पठाएको थियो ।

शुक्रबारको बैठकमा सहभागी हुने कि नहुने भन्नेबारेमा नेताहरूबीच छलफल हुन बाँकी रहेको नेपाल पक्षका सांसदहरूले बताएका छन् । प्रतिनिधिसभामा १२० एमाले सांसदमध्ये माधव नेपाल पक्षमा हाल ३५ जना छन् ।

शुक्रबार माधव पक्षको केन्द्रीय कमिटी बैठक डाकिएको छ ।

कमेन्टहरु
Loading...