काठमाडौं । माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीको अधिकार खोस्ने प्रयास भइरहेको बताएका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालीको आफ्नो निर्णय आफैं गर्ने अधिकार खोस्ने प्रयास भएको र होसियार रहन आग्रह गरेका हुन् ।
पछिल्लो केही वर्ष यता नेपालीले आफ्नो निर्णय आफैं गर्न सक्छन् भन्ने स्थापित भएको तर दलाल प्रयोग गरेर तत्कालीन नेकपालाई माहोरा बनाइएको उनले बताए । शान्ति प्रक्रियादेखि संविधान निर्माण तथा नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरणसम्म आइपुग्दा नेपालीले कसैको हस्पक्षेप वा दवाव सहन नसक्ने प्रमाणित भएको उनको भनाई थियो । नेपालीले आफ्नो निर्णय आफैं लिन थालेपछि केहीलाई मन नपरेको र नेकपाभित्र नै दलाल उत्पन्न भएको पार्टी अध्यक्ष प्रचण्डले आरोप लगाएका छन् ।
नेकपामा दलाल भित्रिएकाले नै प्रधानमन्त्री समेत रहेका हालको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको प्रचण्डले आरोप लगाए । प्रधानमन्त्री ओलीविरुद्ध नागरिक जागरुक भए पछि सर्वोच्च अदालतले नागरिकको हक तथा अधिकारका लागि प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको उनले बताएका छन् ।
प्रतिनिधिसभा पुनःस्थापना गरेको सर्वोच्चले फागुन २३ गते भने गलत निर्णय गरेको उनको भनाई छ । फागुन २३ गतेको फैसला प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलासंग बाझिएको प्रचण्डले बताए । नेपाली नागरिकको आत्मनिर्णय गर्ने अधिकार धरापमा परेको र नागरिकलाई हेपिएको वा हिरीह बनेका हुन् कि भन्ने शंका आफूलाई लागिरहेको प्रचण्डको भनाई थियो । आम नेपाली जनतालाई नै निरीह बनाउने कोसिस भइरहेको भन्दै प्रचण्डले सचेत रहन सबैलाई आग्रह गरेका छन् ।