काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विद्यार्थीको समेत अलग्गै नेतृत्व चयन गरेको छ । पार्टीमा समानान्तर अभ्यास सुरु गरेको नेपाल समुहले सुदेश पराजुलीको अध्यक्षतामा विद्यार्थीको समेत अलग्गै नेतृत्व चयन गरेको हो ।
मंगलबार राति काठमाडौंमा आयोजना भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को राष्ट्रिय भेलाले ५ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो । नेपाल पक्षको अखिलमा यस अगाडि अनेरास्ववियुका सचिव रहेका अध्यक्ष पराजुलीसहित सह–अध्यक्षमा ओसिम लामा तथा महासचिवमा आरती लामा चयन भएका छन् ।
त्यस्तै समानान्तर कमिटीको उपाध्यक्षमा सुदीप शर्मा, यशु लामा, लोकेश निरौला, माधव पन्त, रेनु शाही, कल्पना थापा तथा केशरी रेग्मी रहेका छन् । उक्त समुहको अखिलमा कोषाध्यक्षका रुपमा दिपेश प्रसाईंलाई चयन गरिएको छ । एमालेको वरिष्ठ नेता नेपालको समुहले ७ वटै प्रदेशमा समेत नेतृत्व चयन गरेको छ । त्यस्तै स्थायी कमिटी पनि गठन भएको छ, जसमा १३ जना सदस्य रहने भएका छन् ।