पोखरा १८ का किसानलाई हाते ट्रयाक्टर वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटका किसानलाई हाते ट्रयाक्टर (मिनी टिलर) वितरण गरिएको छ । विशेष गरी व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका १४ किसानलाई ट्रयाक्टर वितरण गरिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीले मंगलबार आयोजित एक कार्यक्रममा किसानलाई ट्रयाक्टर वितरण गरेका हुन् । करिब ४९ हजार पर्ने उक्त ट्रयाक्टरको मूल्यको ५० प्रतशित किसान र ५० प्रतिशत भावना सामुदायिक कृषि सहकारी संस्था, पोखरा महानगरपालिका वडा नम्बर १८ र सामुदायिक विकास कोषले व्यहोरेका छन् । ट्रयाक्टरमा वडा नम्बर १८ को कार्यालयले डेढ लाख, सामुदायिक विकास कोषले एक लाख र भावना कृषि सहकारीले ९३ हजार रुपैयाँ खर्चेका छन् ।

सराङकोटका किसान बालाकृष्ण अधिकारी, नारायण तिमिल्सिना, बेलबहादुर थापा, रमेश थापा, रामकृष्ण थापा मगर, चुडामणि पहारी, लोकबहादुर थापा, लक्ष्मी भण्डारी थापा, चिन्तामणि शर्मा, लोकनाथ तिमिल्सिना, लीलाधर तिमिल्सिना, लिप्तबहादुर थापा, बेलबहादुर जिसी, सूर्यप्रसाद तिमिल्सिनालाई ट्रयाक्टर प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख जिसीले कृषिलाई प्रविविधसँग जोड्नुपर्ने बताए । उनले निर्वाहमुखी उत्पादन नभई व्यावसायिक उत्पादनमा जोड दिनुपर्ने बताउँदै कृषि विमालाई पनि प्राथमिकता दिनुपर्ने बताए । अनुदान दिँदा मात्र उत्पादन नबढ्ने हुनाले कृषिलाई प्रविधि मैत्री बनाउँदै व्यावसायिक उत्पादनमा किसानले जोड दिनुपर्ने भनाइ उनको छ । उत्पादित बस्तुको बजारीकरण गर्न महानगरले सहयोग गर्ने जिसीले बताए ।

वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाले कृषि उत्पादनमा जोड दिएर वडाले किसानहरुलाई सहयोग गर्दै आएको बताए । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले कृषि सहकारी मार्फत् किसानलाई कृषि सामग्री उपलब्ध गराउने योजना महाशाखाले बनाएको बताए ।

भावना सामुदायिक कृषि सहकारी संस्थाका अध्यक्ष बलराम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य ज्ञानबहादुर थापा, भोजकुमारी थापा, सामुदायिक विकास कोषका अध्यक्ष बेलबहादुर थापा, नेकपा एमाले वडा कमिटीका अध्यक्ष पुस्कल थापा, नेपाली कांग्रेस वडा समिति सभापति शिवप्रसाद तिमिसिल्सना, भावना सामुदायिक कृषि सहकारी संस्थाका सचिव मीनबहादुर थापा लगायतले कृषिको बारेमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...