काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू लगायत पार्टीका अन्य नेतालाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताएका छन् ।
आज पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै उनले पार्टीका आफूसहितका नेतालाई स्पष्टीकरण सोध्नु पार्टीको विधान विपरीत र लाजमर्दो भएको बताएका हुन् । पार्टीको विधि र विधान विपरीत निर्णय गरिरहेको अवस्थामा आफू लगायतका नेताले नभएर ओलीले नै स्पष्टीकरण दिनुपर्ने उनको भनाई थियो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष आफैंले पार्टीको विधि तथा विधान विपरीत एकलौटी तरिकाले विभिन्न निर्णय गरेको आरोप लगाउँदै उनले एमालेको केन्द्रीय समितिमा समेत आफ्ना मान्छेमात्र मनोनयन गरेको नेता रावलले आरोप लगाएका छन् ।
ओलीले एमालेलाई नै फुटाएर एकलौटीपन गर्न खोजिरहेको उनको आरोप छ । माओवादी केन्द्रसंग एकीकरण पश्चात् बनेको नेकपा फुटाउनुमा समेत ओलीकै हात भएको उनले बताएका छन् ।
बालुवाटारमा गुटगत भेला राखेर पार्टी अध्यक्ष नै पार्टीलाई फुटाउन अग्रसर भएको उनले कार्यक्रममा बताएका छन् । आफूहरुले एमालेलाई एकताबद्ध बनाउन फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गरेको भए पनि ओलीले नसुनेको उनको आरोप छ । एकलौटी तथा पार्टी अध्यक्ष ओलीको गुटले मात्र बालुवाटारमा भेला भएर गरिएको निर्णयलाई कुनै हालतमा स्वीकार गर्न नसकिने उनले स्पष्ट पारेका छन् ।