पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका डेढ सय विदेशी नागरिक निष्कासित

काठमाडौं । पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करिब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को ८ महिनामा (गत साउनदेखि फागुन मसान्तसम्म) १ सय ३६ विदेशी नागरिकलाई निष्कासन गरिएको हो । पर्यटक भिसामा नेपाल प्रवेश गरी विभिन्न गतिविधिमा संलग्न भएका विदेशी नागरिकलाई निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक रमेश केसीले जानकारी दिएका छन् ।

उनका अनुसार कारवाहीस्वरुप निष्कासित हुनेमा ओभरस्टे, विदेशी मुद्रा अपचलन, बैंकिङ कसूर, लागुऔषधलगायत कसूरका धेरै रहेका छन् । विभागको तथ्यांकअनुसार पछिल्लो समय निष्कासनमा पर्नेमा चिनियाँ नागरिक धेरै छन् । निष्कासित हुने विदेशी नागरिकलाई कसूरका आधारमा एक वर्षदेखि दश वर्षसम्म नेपाल प्रवेशमा रोक लगाइएको महानिर्देशक केसीले जानकारी दिएका छन् ।

विभागको तथ्यांकअनुसार ८ महिनामा विभिन्न १३ शीर्षकमा ४२ हजारभन्दा बढी विदेशीलाई नेपाल प्रवेशका लागि भिसा जारी गरिएको छ । ८ महिनाको अवधिमा २० हजार १ सय ५३ जनालाई पर्यटक भिसा जारी गरिएको छ ।

जसमध्येमा फागुन महिनामा ६ हजारभन्दा बढीलाई उक्त भिसा जारी गरिएको हो । ८ महिनामा १२ हजार २ सय १७ विदेशीलाई थप पर्यटक भिसा, १ हजार ७ सयलाई व्यावसायिक भिसा, ८ सय ८४ जनालाई वैवाहिक भिसा जारी गरिएको छ । यस्तै ७ सय ३९ अध्ययन भिसा, २५ आवासीय भिसा, २ हजार ९ सय ९३ नाता भिसा, १ हजार ९ सय १२ जनालाई कामदार भिसा र २ सय ७२ जनाालाई आश्रित भिसा जारी गरिएको छ । विभागले ८ महिनामा विभिन्न शीर्षकमा भिसा जारी गरेर ४२ करोड २६ लाख २९ हजार राजश्व संकलन गरेको छ । रासस

कमेन्टहरु
Loading...