पोखरा क्षेत्रको पर्यटनको लागि प्राकृतिक तथा संस्कृतिको संरक्षण आवश्यक

पोखरा । पोखरा क्षेत्रको दिगो पर्यटन विकासको लागि प्राकृतिक तथा संस्कृतिको संरक्षण सहित स्थानीय उत्पादनमा जोड दिनुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् । रेडियो अन्नपूर्णले आज (सोमबार) रेडियोमा आयोजना गरेको कोभिड १९ ले गाँजेको सिंगो वर्ष, पर्यटन प्रबद्र्धनमा स्थानीय तहको भूमिका, दीगो पर्यावरणीय विकासका लागि भएका प्रयासको बारेमा छलफल मुलक अन्तरक्रिया कार्यक्रम ‘द राउण्ड टेबल’ मा सहभागी वक्ताले उक्त कुरा बताएका हुन् । पछिल्ला वर्षमा जथभावी रुपमा सडक बाटो बनाउने निहुँमा बिना योजना डोजर लगायर खन्ने, हिमाल नजिक नजिक जलविद्युत् आयोजना लैजाने, नेपालका ऐतिहासिक पद मार्ग मास्दै जाने, स्वदेशी उत्पादनभन्दा विदेशी उत्पादनलाई बढवा दिने, बिना योजना प्राकृतिक र संस्कृतिलाई समेत असर पु¥याउने गरी भएका भौतिक पूर्वाधार विकासले नेपालको दिगो पर्यटनमा असर पर्ने वक्ताले चिन्त्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै कास्कीको मादी गाउँपालिकाका अध्यक्ष बेद प्रसाद गुरुङले आफुहरुले पर्यटनलाई नै विकासको पहिलो प्रथामिकता राखेर काम गर्दै आएका बताए । उनले भने, ‘हाम्रो क्षेत्रको हालको विकासको मुल आधार कृषि र वैदेशिक रोजगार नै भएको छ, अब धेरै सम्भावना भएको मादीमा पर्यटनको विकास गर्न सके यसबाट विदेश जाने युवा शक्तिलाई यही रोक्न सकिन्छ भन्ने हाम्रो प्रयास छ ।’

देश संघियता गए पनि अझै प्रदेश र संघीय सरकारबीचको नीतिगत विषयमा अन्यौल भएको अध्यक्ष गुरुङले गुनासो गरे । मादीमा केवलकार लैजाने योजना अघि बढाएको अवस्थामा अन्नपूर्ण संरक्षण आयोजना (ए—क्याप) को कारण दाताको खाजी हुँदा पनि काम अघि बढ्न नसकेको उनले दावी गरे । केवलकारको फाइल हाल वन्यजन्तु विभागमा पुगेर अड्किएको अध्यक्ष गुरुङले बताएका छन् ।

उनले भने, ‘पर्यटनको भर्जिन क्षेत्रको रुपमा रहेको मादीमा धेरै प्राकृतिक र सांस्कृति वस्तु छन्, अझै हामीले विदेशी पर्यटकलाई हाम्रो क्षेत्रमा पुराउन सकेका छैनौं ।’ उपल्लो क्षेत्रमा सडक बाटो पु¥याउने विषयमा आफूहरु संवेदनशील भएको बताएका अध्यक्ष गुरुङले ठूला परियोजना सञ्चालनको लागि बाटो बिना विकास सम्भव नभएकोेले गर्दा बाटो लैजानुपर्ने भनाई व्यक्त गरे । विकासको बाधकको रुपमा रहेको एक्यापको बिषयमा प्रश्न उठ्न थालेको बताएका उनले अब जनमतमा गए ९० प्रतिशत स्थानीयले एक्यापलाई हटाउन खोजेको दावी गरे । ए क्यापले ३० वर्षमा नगरेको काम स्थानीय तहलाई जिम्मा दिएमा ५ वर्षमा काम गर्ने अध्यक्ष गुरुङले दावी गरे ।

त्यसै गरी कार्यक्रममा बोल्दै कास्कीको अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुवंरले स्थानीय रुपमा उत्पादन गर्न नसके जति नै विदेशी पर्यटक आए पनि उनीहरुले खर्च गर्ने रकम बाहिरिने दावी गरे । कोदोको रक्सीलाई स्थानीय ब्राण्डको रुपमा स्थापित गरी छाड्ने दावी गरेका अध्यक्ष कुवंरले त्यसको प्राविधिक र वैधानिक रुपमा व्यवस्थापन गर्नु पर्ने बताए । सहर बजारमा बसेर पर्यटनका चर्का भाषण गरेरमात्र पर्यटनको विकास नहुने बताएका उनले पर्यावरणलाई समेत ध्यान दियर स्थानीय रुपमा कृषि उत्पादनमा जानुको विकल्प नभएको दावी गरेका छन् । उनले भने, ‘पर्यटनको राजधानी पोखरा हो, पोखराको राजधानी अन्नपूर्ण गाँउपालिका हो, पोखरामा पर्यटक मुस्किलले १ दिन बस्लान्, तर अन्नपूर्णमा हप्ता दिन बिताउन समस्या हुँदैन, हिमश्रृंखलादेखि प्राकृतिक एवं संस्कृति लगायतका पक्षले लोभ्याउने गर्छ ।’

रिमोट एरियाको समग्र विकास नगरेसम्म पोखरा क्षेत्रको समग्र विकास नहुने अध्यक्ष कुवंरको भनाई छ । वन्यजन्तु संरक्षण सहितको प्राकृतिक एवं संस्कृतिको संरक्षणको लागि हाल आफूहरुले पोखरी निर्माण, चौतारा संरक्षण, ढुंगे धारा संरक्षण गर्ने अभियानमै रहेको उनले बताएका छन् । अन्नपूर्ण बेस क्याम्पमा व्यवसायिक रुपमा हेलिकोप्टर सञ्चालन गर्न नदिँदा नदिदै केही नव–धनाड्य र नव सभ्रान्तले हाल सञ्चालन गर्दै आएकोमा अध्यक्ष कुवंरले चिन्त्ता व्यक्त गरे । उनले भने, ‘लेकसाइडमा बसेर ७ मिनेटमा एयरपोर्टमा पुगेर अनि ११ मिनेटमा हेलिकोप्टरबाट वेसक्याम्पमा पुगेर पोखरा फर्किने पर्यटकले के अन्नपूर्ण क्षेत्रका स्थानीयको लागि के योगदान दिए, नावोर जस्ता लोपउन्मुख वन्यजन्तु हाल हेलिकोप्टरको कारण विस्थापित हुने अवस्थामा पुगेको छ, यसको जिम्मा कसले लिने ?’ शारीरिक रुपमा वेस क्याप जान नसक्नेका लागि लैजाने व्यवस्था गरी अन्यलाई पैदलमार्ग बाटै जाने प्रबन्ध गर्नु पर्ने उनको धारणा छ ।

पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष टिकाराम सापकोटाले नेपालमा ग्रामिण पर्यटनकै मुल आधार भएको दावी गरे । नेपालको पर्यटनको लागि कृषि पर्यटनमा जोडिनुपर्ने बताएका उनले जथभावी सबै ठाँउमा होमस्टे र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नहुने राय व्यक्त गरेका छन् । उनले भने, ‘जथभावी रुपमा हाल पदमार्ग मास्ने गरी भएको सडक सञ्जाल, हिमाल नजिक पुगेर जलविद्युत् स्थापना गर्नु पर्यटनको लागि अर्को बाधक हो ।’ एग्रो टुरिजम प्रवद्र्धन गर्न सके स्थानीय उत्पादनमा एग्रो टुरिजमले गाँउपालिकाको दिगो विकास हुने सापकोटाको बुझाई छ । उनले भने, ‘कोरोनाले गर्दा पर्यटन व्यवसायी हाल सिथिल अवस्थामा पुगेका छौं, अझै सरकारले २ वर्ष व्यवसायीलाई केही राहत दिन सकेमा हामीले सन् २०२३ बाट पूर्ण रुपमा पर्यटन चलायमान भएसंगै सरकारले प्रयाप्त मात्रमा कर तिर्न सक्छौं ।’ चाइनिज पर्यटकले हाल धेरै खाना फाल्ने गरेको बताएका पुर्व अध्यक्ष सापकोटाले चाइनिज रेष्टुरेण्टमा आधा खाना फालिने गरेको दावी गरेका छन् ।

संरक्षण अभियान्ता एवं पत्रकार कृष्णमणि बरालले पछिल्ला वर्षदेखि नेपालको विश्व चर्चित अन्नपूर्ण पदमार्ग विस्तारै विश्वको नजरमा जथभावी सडक बाटो पुगेकोले छायाँमा पर्ने हो कि भन्ने चिन्त्ता व्यक्त गरेका छन् । हिमाली क्षेत्रमा पानी सुख्खा हुँदै गएको बताएका बरालले विज्ञको सुझाव अनुसार वन्यजन्तु लागि पानीको आवश्यकता पर्ने उच्च भेगका केही ठाँउमा पोखरी बनाउनुपर्ने बताए ।

हिमाली क्षेत्र पोखराको ब्राण्ड भएको दावी गरेका पत्रकार बरालले अन्नपूर्णबाट पछि पोखराको विश्व बजारमा परिचित भएको जनाए । २ हजार ५ सय मिटरको उचाईमा रहेको कपुचे हिउ ताल, कोलासोथ्थर लगायतको क्षेत्रको मौलिक पन संरक्षण गर्नुपर्ने बरालको माग रहेको छ । उक्त कार्यक्रमको सञ्चालन रेडियो अन्नपूर्णकर्मी बासुदेव मिश्रले गरेका थिए ।

कमेन्टहरु
Loading...