भुज्रुङखोला–घलेखर्क–ताराहिलटप–सिक्लेस पदमार्गको प्रवद्र्धन गरिने

पोखरा । पदयात्रा पर्यटनमा सन् १९८१ देखि चासो र चर्चामा रहेर पनि पछिल्ला समयमा ओझेलमा परेको भुज्रुङखोला–घलेखर्क–ताराहिलटप–सिक्लेस पदमार्गको प्रवद्र्धन गरिने भएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धन एवं अखिल नेपाल पर्यटन मजदुर संघ गण्डकी, कास्की जिल्ला समिति र पोखरा महानगरपालिका समितिको संयुक्त आयोजनामा उक्त क्षेत्रमा प्रवद्र्धनात्मक पदयात्रा गर्न लागिएको हो ।

पर्यटन मजदुरसहित पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिसहितको टोलीले यही चैत १० गतेदेखि उक्त पदमार्गमा २ रात ३ दिनको पदयात्रा गर्न लागेको अखिल नेपाल पर्यटन मजदुर संघ कास्कीका अध्यक्ष धनबहादुर तामाङले जानकारी दिएका छन् ।

पुरानो पदमार्ग भएर पनि सो मार्गमा व्यवस्थित चिया तथा खाजा खाने ठाउँ, होटेललगायत पूर्वाधार नभएका कारणपछि परेको उनले बताए ।

अन्नपूर्ण हिम श्रृंखलासहितका हिमाली एवं पहाडी दृश्यलाई एकसाथ अवलोकन गर्न सकिने यो पदमार्गमा पदयात्रा गर्दा अधिकतम २ हजार ९ सय मिटरको उचाइसम्म पुग्नुपर्छ ।

घलेखर्कदेखि माथि गुराँसैगुरासको जंगल भएका कारण चैत वैशाखको समय यस क्षेत्रको पदयात्रा निकै मनोरम हुने पर्यटन व्यवसायी बताउँछन् । सम्भावना भएर पनि ओझेलमा परिरहेका पर्यटकीय गन्तव्यलाई पर्यटन सम्बद्ध संघसंस्थाको सहकार्यमा नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्दै आएको बोर्डको प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले जानकारी दिएका छन् ।

जथाभावी मोटरबाटो खन्ने क्रमसँगै पदयात्रा पर्यटन संकटमा पर्दै गएका अवस्थामा पछि परेका अवस्थामा पुरान ऐतिहासिक पदमार्गको प्रवद्र्धन र उत्थान गर्न खोजिनुलाई सकारात्मक रुपमा लिइएको छ । रासस

कमेन्टहरु
Loading...